बेलिना थापा
लमजुङ, असार ८ गते । लमजुङको क्व्होलासोंथर गाउँपालिका -९ टक्सार गाउँको दलित बस्ती पहिरोको जोखिममा परेको छ । निरन्तरको वर्षाका कारण गाउँको विभिन्न ठाउँमा पहिरो झरेपछि स्थानीय त्रसित भएका छन् ।
पहिरोका कारण गाउँको सामुदायिक भवन, घर जोखिममा रहेको स्थानीयले बताएका छन् । स्थानीय इमप्रसाद गुरुङका अनुसार गाउँको पूर्वतिर र पश्चिमतिरबाट पहिरोले घेरेको छ । गाउँको माथिल्लो दलित बस्ती टोलनजिकै पहिरो झरेको छ । शुक्रबार र शनिबार परेको पानीका कारण गाउँको नजिकै पहिरो आएको छ । गत वर्ष मात्र दलित सामुदायिक भवन बनाएको गाउँमा पहिरो जाँदा, बगाउने अवस्थामा रहेको उहाँले बताउनुभयो ।
पहिरो ठूलो भएकाले सामुदायिक भवनको आडैमा रहेका घरहरू पनि जोखिममा छन् । सामुदायिक भवनबाट एक मिटर तलबाट पहिरोले च्याप्दै आएको छ । भवन रहेको ठाउँबाट ५-६ घर नजिक रहेकाले पहिरो बढ्दैगएपछि जोखिम बढेको उहाँले बताउनुभयो । स्थानीय केशबहादुर विकका अनुसार पहिरोले सामुदायिक भवन च्याप्दैल्याएको छ ।
सामुदायिक भवनबाट आफ्नो घर ७-८ मिटर मात्र पर रहेकाले पहिरो बढ्दैगएमा घरै लैजाने चिन्ता थपिएको बताउँदै भन्नुभयो, ‘पानी परिरहेको छ । पहिरो बढ्दैछ । झनै बढेमा घर लैजाने होकी भन्ने डर छ’ उहाँले भन्नुभयो, ‘रातभर निदाउन सकिन्न । पानी परेपछि झनै मन आत्तिन्छ ।’
गाउँको तल्लो भेगको भोज्मे टोलका २ घरको आडैमा पहिरो झरेको छ । दश-पन्ध्र मिटरनजिक पहिरो रहेकाले घर लैजाने जोखिम रहेको उहाँले बताउनुभयो । यसअघिका वर्षातमा पहिरो जाने नभएपछि यो वर्ष अत्याधिक वर्षा भएपछि पहिरो झरेको हो । गाउँको पहिरोको अवस्थामा बुझ्न क्व्होलासोंथर गाउँपालिकाका प्राविधिक आएर हेरेको स्थानीयले बताएका छन् । प्राविधिकले अध्ययन गरेर स्टेमेट गरेको र गण्डकी प्रदेश सरकारसँग सहयोगका लागि माग गरिएको वडाध्यक्ष नन्दजङ गुरुङले बताउनुभयो । ग्याबीन जालीका लागि सहयोगको माग गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार उक्त पहिरोमा क्व्होलासोंथर गाउँपालिकाको सहयोगमा २ वटा त्रिपालले पहिरो छोपेर राखिएको छ । पहिरोमा पानी पर्दा झनै समस्या हुने भएकाले तत्कालका लागि पानी पर्न नदिन त्रिपाल ओढाएको जनाएको छ । टक्सार गाउँको दलित बस्तीमा ३०-३२ घरधुरी रहेको छ ।