logo
२०८० चैत्र १५ बिहीवार

  पाल्पाकाे पहिरो अपडेट  



मृतक सङ्ख्या चार पुग्यो, एक जनाको पहिचान खुल्न बाँकी

प्रदेश |


मृतक सङ्ख्या चार पुग्यो, एक जनाको पहिचान खुल्न बाँकी


रेखिराम राना
पाल्पा, असार ९ गते । पाल्पाको तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै सोमबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । प्रहरीले मङ्गलबार दिउँसो पहिरो पन्छाउने क्रममा थप एक जनाको शव फेला परेपछि मृतकको सङ्ख्या चार पुगेको हो ।
पहिरोले चार वटा सवारीसाधनलाई बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो । पहिरोमा परेर मृत्यु हुनेमा पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं. २ का ३२ वर्षीय भुवन खाम्चा, चितवन भरतपुर महानगरपालिका–२९ का ३३ वर्षीय वीरबहादुर गुरुङ् रहेका छन् । यस्तै काभ्रे पाँचखाल नगरपालिका–८ का २८ वर्षीय निवेश श्रेष्ठ छन् भने मङ्गलबार फेला परेको शवको भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।
तानसेनदेखि तम्घास जाने क्रममा चार वटा सवारीसाधनलाई पहिरोले बगाएको थियो । तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा सोमबार राति मृत्यु भएको थियो । प्रहरीले तीनै जना मृतक लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करका रहेको जनाएको छ । पहिरोले लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअपलाई बगाएको थियो ।
तानसेन–तम्घास सडक चौडा गरिरहेको अवस्थामा आइतबार रातिदेखि नै अविरल वर्षाका कारण सडकमा पहिरो खस्दा घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । डोजरले चलाएको जमिन सडकमा एक्कासि पहिरो खसेको र सडकमा गुडेका सवारीलाई बगाएको तानसेन–११ का वडा अध्यक्ष दामोदर घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?