logo
२०८१ बैशाख ४ मंगलवार



वीरगञ्ज महानगरकाे तीन अर्ब साढे ८६ करोड बजेट

प्रदेश |


वीरगञ्ज महानगरकाे तीन अर्ब साढे ८६ करोड बजेट


दिपकप्रसाद गौतम
वीरगञ्ज , असार १० गते । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ रुपियाँको अनुमानित आयव्यय बुधबार आयोजित सातौँ नगरसभामा प्रस्तुत गरिएको छ । वीरगञ्ज महानगरपालिकाको उपप्रमुख शान्ति कार्कीले बुधबार आयोजित सातौँ नगरसभामा तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ रुपियाँको अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमा चालुतर्फ एक अर्ब ६२ करोड ६९ लाख १८ हजार रुपियाँ (४२ दशमलव ९ प्रतिशत), पुँजीगततर्फ दुई अर्ब १७ करोड ४६ लाख ७२ हजार (५६ दशमलव २६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख रुपियाँ (१ दशमलव ६५ प्रतिशत) खर्च हुने अनुमान गरिएको छ । कुल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार (६ दशमलव ७१ प्रतिशत), सामाजिक विकासतर्फ ८७ करोड ७७ लाख ३६ हजार (२२ दशमलव ७१ प्रतिशत), पूर्वाधार विकास तर्फ एक अर्ब ७७ करोड छ लाख १२ हजार (४५ दशमलव ८१ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धी (वन वातावरण तथा विपतसमेत) तर्फ रु २३ करोड ७५ लाख १६ हजार (६ दशमलव १५ प्रतिशत) र कार्यालयतर्फ रु ७१ करोड ९८ लाख एक हजार (१८ दशमलव ६२ प्रतिशत) व्ययको अनुमान प्रस्तुत गरिएको छ ।

सो बजेटमा आगामी वर्ष सञ्चालन हुने आयोजनामा आरयुडिपी तथा एसटीआईयूईआईपी रु एक अर्ब ४ करोड ४७ लाख ५७ हजार, वडा स्तरीय योजनाहरूमा २४ करोड ७० लाख रुपियाँ, म्याचिङ फण्डमा १६ करोड ७७ लाख २५ हजार रुपियाँ, लक्षित कार्यक्रमतर्फ दुई करोड ३४ लाख रुपियाँ, तराईमधेश सम्वृद्धि कार्यक्रमतर्फ ३० लाख रुपियाँ, सडक बाेर्ड कार्यक्रमतर्फ एक करोड रुपियाँ, रोजगार कार्यक्रमतर्फ ४० लाख बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ २० लाख रुपियाँ, सामाजिक सुरक्षा भत्तातर्फ ४५ करोड रुपियाँ, वडा भवनतर्फ तीन करोड रुपियाँ, उज्यालो वीरगञ्ज कार्यक्रमतर्फ १२ करोड ८१ लाख रुपियाँ, शैक्षिक विकासतर्फ ६२ करोड ६४ लाख रुपियाँ, स्वास्थ्यतर्फ १४ करोड ६८ लाख ८० हजार कृषि विकासतर्फ ८३ लाख रुपियाँ, पशुसेवा विकासतर्फ ४३ लाख रुपियाँ तथा जनसहभागितामा आधारित कार्यक्रमतर्फ तीन करोड रुपियाँको बजेट व्यवस्थापन मिलाइएको छ ।

वीरगञ्ज महानगरपालिकाले सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपियाँ, राजश्व बाँडफाड २१ करोड १२ लाख रुपियाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।

त्यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट एक करोड १६ लाख २० हजार रुपियाँ, सशर्त अनुदानतर्फ तीन करोड रुपियाँ, राजश्व बाँडफाडतर्फ सवारी साधनबाट तीन करोड १४ लाख चार हजार रुपियाँ, घरजग्गा रजिष्ट्रेशनबाट १५ करोड रुपियाँ, नगरविकास अनुदानबाट एक अर्ब तीन करोड ५६ लाख ५१ हजार रुपियाँ, नगरविकास ऋणतर्फ ९१ लाख छ हजार रुपियाँ, सडक बाेर्डतर्फ एक करोड रुपियाँ, युनिसेफबाट ४५ लाख रुपियाँ प्राप्त हुने अनुमान महानगरपालिकाको रहेको छ । त्यसैगरी, नगद मौज्दाततर्फ ३० करोड १८ लाख १८ हजार रुपियाँ र आन्तरिक आयतर्फ ५९ करोड ७५ लाख रुपियाँ आम्दानी हुने बजेटमा अनुमान गरिएको छ ।

महागरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको सभापतित्वमा नगरसभागृहमा आयोजित उक्त नगरसभाको प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले उदघाट्न गर्नुभएको थियो । अबका दिनमा स्थानीय निकायहरूले स्वास्थ्यक्षेत्रको विकासमा सबैभन्दा बढी लगानी गर्नुपर्ने अवस्था रहेको बताउनुहुँदै मन्त्री सोनलले कोरोना भाइरसको सङ्क्रमणको कारण विकास निमार्णले गति लिन नसकेको धारणा राख्नुभयो । भौतिक विकास मात्र नभई सामाजिक विकास पनि जरुरी रहेको औँल्याउँदै मन्त्री सोनलले निर्माण सम्पन्न भौतिक पूर्वाधारको संरक्षण जरुरी रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?