logo
२०८१ फाल्गुन २० मंगलवार



भक्तपुर नगरपालिकाद्वारा एक अर्ब ८२ करोड रुपियाँकाे बजेट प्रस्तुत

प्रदेश |


भक्तपुर नगरपालिकाद्वारा एक अर्ब ८२ करोड रुपियाँकाे बजेट प्रस्तुत


गाेरखापत्र अनलाइन

भक्तपुर, असार १० गते । भक्तपुर नगरपालिकाकाे सातौँ नगरसभा बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब ८२ करोड ४० लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाका उपप्रमुख रजनी जोशीले बुधबार नगरपालिकाको आ.व. २०७७/७८ को अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटको चालु खर्चतर्फ ३९ करोड ८९ लाख ७६ हजार रुपियाँ र पुँजीगततर्फ ७९ करोड ७३ लाख ११ हजार रुपियाँ खर्चको अनुमान गरिएको छ ।

कोभिड–१९ रोगको महामारीको विषम परिस्थितिका कारण यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरूलाई प्राथमिकता क्रममा राखिएको नगरपालिकाको बजेट वक्तव्यमा उल्लेख छ ।

बजेट वक्तव्यमा जनप्रतिनिधिहरूले यो आगामी आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्र भ्रमण गर्दाको भ्रमण भत्ता तथा समितिको बैठक भत्ता आधा घटाउने उल्लेख छ । साथै नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई दिइँदै आएको खाजा भत्ता र पोसाक भत्ता नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका एकाइ समितिको तर्फबाट यो वर्ष नलिने उल्लेख छ ।

वडास्तरका योजनाहरूका लागि आगामी वर्षका लागि ५० लाख रुपियाँका दरले जम्मा पाँच करोड रुपियाँ र सडक बोर्डअन्तर्गतका योजनाहरू सञ्चालन गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । साथै नगरपालिकाले सञ्चालन गर्ने ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणको लागि ५० लाख रुपियाँ, खानेपानी फिल्ट्रेसन तथा पाइप सुधार कार्य, खेला तथा घाट सुधार, पर्ती जग्गा संरक्षण तथा सीमाङ्कन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययनको लागि एक करोड ५४ लाख २१ हजार रुपियाँ विनियोजन गरिएको छ ।

भक्तपुर नगरपालिकाले शैक्षिक ऋण वितरणको लागि तीन करोड रुपियाँ, पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिंगटी छाना निर्माणमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत अनुदान दिने कार्यलाई निरन्तरता दिइएको बजेट वक्तव्यमा उल्लेख छ । विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कुल बजेटको २०.९० प्रतिशत छुट्याइएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ७.६९ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा २३.१५ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.५० प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १३.५७ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा १.८४ प्रतिशत, कृषि क्षेत्रमा ०.४५ प्रतिशत र खानेपानी क्षेत्रमा ०.९८ प्रतिशत विनियोजन गरिएको उपप्रमुख जोशीले बताउनुभयो । 

नगरसभाको अर्को बैठक असार १२ गते बस्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?