अमृतप्रसाद पौडेल
बेनी, असार ११ गते । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितहरूको सङ्ख्या १४ पुगेको छ । बिहीबार बिहान आएको पीसीआर परीक्षणको नतिजा छ जनामा पोजिटिभ आएसँगै जिल्ला भित्रका सङ्क्रमित हुनेको सङ्ख्या १४ पुगेको हो ।
मङ्गला गाउँपालिका–१ कुहुँका २० र ३५ वर्षका पुरुष, मङ्गला गाउँपालिका-३ का २६ वर्षीय र ४ का २३ वर्षीय पुरुष तथा बेनी नगरपालिका–४, सिङ्गाका १७ वर्षीय पुरुष गरी पाँच जना पुरुष तथा बेनी नगरपालिका–३ का २६ वर्षीया महिलामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
पुरुषहरू सबै भारतबाट गत जेठ २७ गते आएका हुन् भने महिला कुवेतबाट गत जेठ ३० गते आएकोसमेत विज्ञप्तिमा उल्लेख छ ।
सङ्क्रमित सबै अहिले बेनीबजारको खुलामञ्चनजिकै रहेको आइसोलेसनमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म म्याग्दीका सङ्क्रमित १४ मध्ये दुई जना निको भएर घर फर्केका छन् भने १२ जनाको उपचार भइरहेको छ ।