प्रतीक इच्छुक शर्मा
सल्यान, असार ११ गते । यहाँ एकै दिन चार महिलासहित ८४ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ८४ को कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति रिखाराम पुनले १५ देखि २० दिनसम्म आइसोलेसनमा राखेर उपचार गरेपछि आज कोरोनामुक्त भएका चार महिलासहित ८४ जनालाई घर पठाइएको बताउनुभयो । उहाँका अनुसार उपचारपछि निको हुनेहरूमा बनगाड कुपिण्डे नगरपालिकाका एक महिलासहित ५८ जना, बागचौर नगरपालिकाका एक जना महिलासहित नाै जना, त्रिवेणी गाउपालिकाका पाँच जना रहेका छन् ।
यस्तै, सिद्ध कुमाख गाउपालिकाका एक जना महिलासहित तीन जना, कुमाख गाउँपालिकाका तीन जना, दार्मा गाउपालिकाका तीन जना, कालीमाटी गाउपालिकाका एक जना महिलासहित दुई जना र कपुरकोट गाउपालिकाका एक जना रहेका छन् ।
यससँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या १५० पुगेको छ । लुहापिङ आइसोलेसनबाट १२० जना, सल्यान अस्पतालबाट आठ जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र चौरजहारी मिसन अस्पतालबाट नौ जना गरी १५० जना घर फर्किएका हुन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले जिल्लामा भेटिएका १७३ कोरोना सङ्क्रमितमध्ये स्वास्थ्यकर्मीसहित २३ जना आइसोलेसनमा रहेको बताउनुभयो । उहाँका अनुसार सल्यान बहुमुखी क्याम्पस लुहापिङ आइसोलेसनमा १२ जना, सल्यान अस्पतालमा पाँच जना, बनगाड आइसोलेसनमा चार जना र चौरजहारी आइसोलेसनमा दुई जना रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कोरोना सङ्क्रमण निको भएर घर जानुअघि उनीहरूले लुहापिङको मैदानमा सामूहिक नाचगान गरेर बिदा भएका हुन् । निको भएका उनीहरूले कोरोना सामान्य रोग भएको तर बाहिर भने नकारात्मक प्रचार बढी फैलिएकाले सावधानी अपनाए सहजै जित्न सकिने प्रतिक्रिया दिएका छन् ।
अढाई वर्षको बच्चाकी आमा दीपा बुढाले कोरोना भाइरस सङ्क्रमण जितेर घर फर्कँदैगर्दा खुसी लागेको बताउनुभयो । उहाँका अनुसार भारतको महाराष्ट्रबाट श्रीमानसँगै नेपाल फर्कँदा पीसीआर जाँच गर्दा कोरोनाको सङ्क्रमण देखिएपछि जिल्लास्थित लुहापिङको आइसाेलेसनमा बस्नुपरेको थियो ।
काखमा सानो बच्चाले आमालाई छोड्न नमानेपछि बच्चालाई पनि आमासँगै आइसाेलेसनमा राखिएको थियो ।