logo
२०८१ फाल्गुन २० मंगलवार



बढ्दैछ बाढी पहिरोको जोखिम

प्रदेश |


बढ्दैछ बाढी पहिरोको जोखिम


प्रदेश ५ ब्युरो

बुटवल, असार १२ गते । कोरोनाविरुद्ध लडिरहेका स्थानीय तहका सामु प्राकृतिक प्रकोपविरुद्ध लड्ने चुनौती पनि थपिएको छ । बाढी पहिरोका घटनासँगै क्षति पनि बढ्दै गएपछि प्रदेश ५ का कैयौँ स्थानीय सरकारले कोरोना सचेतनासँगै प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्व तयारी थालिरहेका छन् ।
नेपाल नगरपालिका सङ्घ प्रदेश ५ का संयोजक शिवराज सुवेदीका भनाइमा अधिकांश स्थानीय सरकारले कोरोनाविरुद्धको लडाइँसँगै बाढी पहिरो र डुबानबाट हुनसक्ने क्षति रोक्न पहल थालिसकेका छन् ।

उच्च सतर्कता
तानसेन समाचारदाताका अनुसार पहिरोका कारण चार जनाको ज्यान गइसकेको पाल्पा जिल्लामा बाढी र पहिरोबाट हुने क्षति कम गर्न जिल्लास्थित विपद् व्यवस्थापन समितिले जोखिमयुक्त क्षेत्रको पहिचान गरेर आवश्यक सतर्कता अपनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जिल्लाका विभिन्न स्थानमा अति जोखिम, कम जोखिम र जोखिममुक्त क्षेत्रको पहिचान गरेर आवश्यक तयारी गरिएको बताउनुभयो ।
बाढी पहिरो जान सक्ने आकलन गरी त्यस्ता क्षेत्रको पहिचान गरेर स्थानीय तहलाई सचेत गराउने र आवश्यक तयारी गर्न काम भइरहेको उहाँले जानकारी दिनुभयो । पाल्पामा यो वर्षको वर्षात्सँगै बाढी र पहिरोका कारण पाँच जनाको ज्यान गएको छ भने दर्जनौँ विद्यालय, घर तथा अन्य भौतिक पूर्वाधारमा क्षति पु¥याएको छ ।

खोज, उद्धार र राहत
नेपालगञ्ज समाचारदाताका अनुसार राप्ती नदी वरिपरि पर्ने बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडा बाढी र डुबानको अत्यधिक जोखिममा छन् । ती क्षेत्रमा बाढी आउनुपूर्व नै आपात्कालीन खोज, उद्धार र सचेतनाको सबै तयारी पूरा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले राप्ती नदी वरिपरिका क्षेत्रमा बर्सेनि बाढी आउने र डुबान हुने गरेकाले मनसुन पूर्वतयारी योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर सचेतना, उद्धार र राहतको सबै तयारी पूरा गरिएकोे बताउनुभयो ।
उहाँले राप्ती वरिपरिका सबै स्थानीय तहमा राहत तथा उद्धार सामग्री पु¥याउनुका साथै नरैनापुरको गङ्गापुरमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पमा समेत उद्धार सामग्री पठाएर प्रहरीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

जोखिम कम
राप्ती नदीले खतराको निसान पार गरे लगत्तै बाँकेको कुसुममा राप्ती नदी छेउमा रहेको बाढी मापन केन्द्रले जानकारी गराउने व्यवस्था मिलाइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकीका अनुसार कुसुमबाट बाढीसहितको नदी जोखिम क्षेत्रसम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्ने भएकाले तत्काल जोखिम क्षेत्रमा खतराको साइरन बजाइने हुँदा त्यहाँका बासिन्दा बाढी त्यहाँ पुग्नुभन्दा पहिले नै अत्यावश्यक सामान लिएर अग्लो र सुरक्षित ठाउँमा पुग्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?