राजन रावत
सिमकोट, असार १२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा हिमाली जिल्ला हुम्लाका लागि थप खाद्यान्न कोटा स्वीकृत गरिएकाे छ । जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णय भई माग भएबमोजिम कोटा स्वीकृत नभएपनि दुई हजार क्विन्टल खाद्यान्न थप हुने भएको हो ।
लिमिटेडको सञ्चालन समितिबाट हुम्ला जिल्लाका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भएको हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो । माग बढी भएपनि हाललाई दुई हजार क्विन्टल कोटा खाद्यान्न स्वीकृत भएकोले र सो खाद्यान्न सुर्खेत र नेपालगञ्जबाट ढुवानी पनि शुरु भएको उहाँले बताउनुभयो । तारा, सीता र समिति एयरका जहाजहरूले थप कोटाको खाद्यान्न ढुवानी शुरु गरेका छन् ।
नयाँ ढुवानी भएर आउने खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रमा जाने र बाँकी सिमकोट शाखाका लागि ढुवानी हुने बताउँदै उहाँले उक्त खाद्यान्नबाट आगामी दसैँसम्म व्यवस्था गर्नुपर्नेछ । अर्को जिल्लाको माग अनुसार खाद्यान्नको व्यवस्था नभएका कारण यति खाद्यान्न दसैँसम्मका लागि पर्याप्त भने हुने देखिएको छैन ।