चन्द्रप्रकाश शर्मा
पोखरा, असार १३ गते । गण्डकी प्रदेशमा शनिबार बिहान ३२ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ सङ्क्रमित हुनेमा स्याङ्जाका २२ जना, बागलुङका आठ जना र नवलपरासी पूर्वका दुई जना रहेका छन् ।
निर्देशनालयका अनुसार पोखरास्थित प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा परीक्षण गरिएका स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १३ पुरुष र छ महिला, बागलुङको काठेखोला गाउँपालिकाका सात पुरुष, ढोरपाटन नगरपालिकाका एक पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा परीक्षण गरिएका स्याङ्जाको वालिङ नगरपालिकाका एक पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँको प्रयोगशालामा परीक्षण गरिएका नवलपसारी हुप्सेकोट गाउँपालिकाका दुई जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार स्याङ्जाको वालिङ नगरपालिकाका पुरुषमा बुधबार र नवलपरासीका दुई जनामा शुक्रबार नै सङ्क्रमण पुष्टि भई आइसोलेसनमा राखिसकिएको र अन्य सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने कार्य सुरु भएको छ ।
नयाँ सङ्क्रमितसँगै हालसम्म पूर्वी नवलपरासीका २१२ जना, स्याङ्जाका १५८, बागलुङका १५१ जना, तनहुँका १०२, गोरखाका ७७, पर्वतका ७०, कास्कीका ३५, लमजुङका १७, म्याग्दीका १४, मनाङ र मुस्ताङका १/१ जना कोरोना सङ्क्रमित भएका छन् । यी मध्य स्याङ्जाका दुई पुरुषको मृत्यु भएको तथा पूर्वी नवलपरासीमा १२, स्याङ्जाका २२, बागलुङमा २४, तनहुँमा नाै, गोरखामा १८, पर्वतमा ११, कास्कीमा १९, म्याग्दीमा दुई, लमजुङमा चार जना गरी १२१ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फिर्ता भएका छन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार परीक्षणको दायरा बढेकाले सङ्क्रमितको सङ्ख्या पनि थपिँदै गएको छ । पहिले एउटा मात्र पीसीआर मेसिनको प्रयोगबाट स्वाब परीक्षण भएकोमा हाल नयाँ मेसिन थप गरी परीक्षण भइरहेको छ । यस्तै, पोखरामा परीक्षण गर्न समय लाग्ने भएपछि काठमाडौँ, भरतपुरलगायत ठाउँमा स्वाब पठाएर परीक्षण गर्ने गरिएको थियो । हालसम्म गण्डकी प्रदेशमा नौ हजार ४५८ जनाको स्वाब सङ्कलन गरिएकोमा ८३८ जनामा कोरोना सङ्क्रमण देखिएको, सात हजार ९५८ जनामा कोरोना सङ्क्रमण नदेखिएको तथा ६६२ जनाको परीक्षण हुन बाँकी रहेको छ ।