logo
२०८१ बैशाख १५ शनिवार



रुपन्देहीमा सलह भेटिएको पुष्टि, नियन्त्रण गृहकार्य शुरू

प्रदेश |


रुपन्देहीमा सलह भेटिएको पुष्टि, नियन्त्रण गृहकार्य शुरू


लक्ष्मण पौडेल
भैरहवा, असार १३ गते । भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको छ । सलह कीरा भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश ५ सरकारले आन्तरिक गृहकार्य थालेको छ ।
प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएको कीरा सलह नै भएको पाइएको बताउनुभयो । रुपन्देहीको भैरहवा र बुटवल क्षेत्रमा शनिबार बिहान एक–दुई वटा मात्रै सलहजस्तै कीरा देखिएकोमा दिउँसो ठूलो सङ्ख्यामा कीराहरू उड्दै गरेको अवस्थामा देखिएको थियो ।
भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र हुँदै सलह रुपन्देहीका विभिन्न क्षेत्रमा प्रवेश गरेको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले सलह कीरा प्रदेश ५ को रुपन्देहीमा आएको जनाएको छ । “सलह जस्तै कीरा देखिएपछि प्राविधिक टोलीले अनुसन्धान गर्ने क्रममा सलह नै भएको पाइएको छ, अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरी निर्णयमा पुग्ने छौँ ” देवकोटाले भन्नुभयो ।
उहाँले रुपन्देहीको आकाशमा देखिएको सलह निरन्तर भइरहेको वर्षाका कारण ठूलो झुण्ड टुक्रिएर आएको हुनसक्ने बताउनुभयो । बुटवलस्थित नेपाली सेनाको गुल्ममा शनिबार बिहान सलहजस्तै देखिने कीरा ठूलो सङ्ख्यामा देखिएपछि अनुसन्धान गरिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेनाको ब्यारेकमा ठूलो सङ्ख्यामा कीरा देखिएको बताउनुभयो । “त्यहाँ ठूलो आकारको फट्याङ्ग्रा ठूलो सङ्ख्यामा आएपछि सेनाले नियन्त्रणमा लिएको थियो ।” उहाँले भन्नुभयो ।
कृषि विज्ञहरूले रुपन्देहीमा देखिएको कीरा सलह नै भएको दाबी गर्दै यसको नियन्त्रणका लागि तयारी थालेका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवाका उपप्राध्यापक तथा कीटविज्ञ दीपकराज खनालले स्थानीयले जानकारी गराएपछि आफू अनुसन्धानमा गएको र अनुसन्धानका क्रममा सलह कीरा नै रहेको पाइएको बताउनुभयो । प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलको बैठक शनिबार साँझ बसेको छ । रुपन्देहीमा देखिएको कीरा सलह नै भएको पाइएपछि अब कसरी नियन्त्रणका लागि अघि बढ्ने भनेर बैठक बसिएको मन्त्री आरती पौडेलले जानकारी दिनुभयो । “अध्ययनका क्रममा रुपन्देहीमा देखिएको कीरा सलह नै भएको पाइयो, अब यसको नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्नेछौँ,” उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?