लक्ष्मण पौडेल
भैरहवा, असार १४ गते । रुपन्देहीमा शनिबार देखिएको सलह कीरा पहाडी क्षेत्रतिर लागेको छ । रुपन्देहीमा ठूलो सङ्ख्यामा शनिबार सलह देखिएपछि किसानहरू त्रसित बनेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख रामप्रसाद पाण्डेका अनुसार आइतबार रुपन्देहीका कुनै पनि स्थानमा सलह देखिएको जानकारी आएको छैन । “हामीले जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाहरूसँग सम्पर्क गर्दा कुनै पनि क्षेत्रमा सलह देखिएको पाइएको छैन” उहाँले भन्नुभयो ।
प्रदेश ५ कृषि निर्देशनालयले शनिबार रुपन्देहीमा भित्रिएको सलहले बालीमा कुनै पनि क्षति नगरेको जनाएको छ । निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले आकाशमा उडिरहेको सलह निकै आत्तिएको जस्तो देखिएको बताउँदै बालीमा कुनै पनि क्षति नगरी पहाडी भेगतिर लागेको बताउनुभयो ।
“अहिले गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सलह फैलिएको जानकारी आएको छ, रुपन्देहीका कुनै पनि स्थानमा आइतबार सलह देखिएको छैन ।” उहाँले भन्नुभयो ।
भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । शानिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रणका लागि आवश्यक रणनीति तय गरेको छ ।
सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताउनुभयो ।