logo
२०८१ मंसिर १३ बिहीवार



कौसी खेती गर्ने उत्कृष्ट कृषक पुरस्कृत

प्रदेश |


कौसी खेती गर्ने उत्कृष्ट कृषक पुरस्कृत
तस्विर : फाइल


प्रकाशचन्द्र भट्टराई
दमौली, असार १४ गते । काैसी खेती गर्ने उत्कृष्ट कृषकहरू पुरस्कृत भएका छन् । तनहुँको शुक्लागन्डकी नगरपालिका वडा नं. ४ ले काैसी खेती गर्ने उत्कृष्ट कृषक तथा समूहलाई शनिबार सम्मान पत्रसहित पुरस्कार प्रदान गरेको हो । वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षमै निर्णय गरी वडाले काैसी खेती गर्न वडावासीसँग अपिल गरेको थियो । तरकारी लगाउने जग्गा नभएका कृषकले काैसीको सदुपयोग गरी तरकारी लगाउन वडा कार्यालयले प्रोत्साहन गरेको कृषि प्राविधिक चन्द्रकला राईले बताउनुभयो ।

काैसी खेती प्रवर्द्धन गर्न गत वर्ष नै वडा कार्यालयले कृषकलाई तरकारीका बीउ र गमला वितरण गरेको थियो । बीउ तथा गमलाको उपयोग गरी उत्कृष्ट हुने समूह तथा कृषकहरूलाई शनिबार नगदसहित सम्मान गरिएको हो । पुरस्कृत हुनेमा शुक्ला टोलका राजकुमार भण्डारी प्रथम, भित्रीबजार टोलका डिलबहादुर थापा द्वितीय र प्रगति टोलकी भगवती लामिछाने तृतीय हुनुभएकाे छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार रुपियाँ नगदसहित पुरस्कृत गरिएको वडा सचिव कल्पना सुवेदीले बताउनुभयो ।

समूहतर्फ भने शुक्ला टोल प्रथम, भित्रीबजार टोल द्वितीय र प्रगति टोल तृतीय घोषित भएका थिए । पुरस्कृत टोललाई ५५ हजार रुपियाँले पुरस्कृत गरिएको थियो । त्यसैगरी, वडाका १४ टोलबाट उत्कृष्ट दुई/दुई जना कृषक छनोट गरी २८ जनालाई जनही एक/एक हजार रुपियाँ र तरकारीमा पानी हाल्ने हजारी प्रदान गरिएको वडा सचिव सुवेदीले बताउनुभयो ।

उत्कृष्ट कृषक तथा समूहलाई पुरस्कार वितरण गर्दै वडा अध्यक्ष शिवकुमार श्रेष्ठले वडालाई तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रममा सबै वडावासीको निकै राम्रो सहयोग पाएको बताउनुभयो । सबैले घरको काैसीमा तरकारी खेती गर्ने हो भने तरकारी किन्नमा खर्च हुने रकम अन्यत्र उपयोग गर्न पाइने बताउनुभयो । नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले बीउ छनोट, आधुनिक प्रविधि र सरसफाइमा ध्यान दिन सके काैसीमा राम्रो तरकारी उत्पादन गर्न सकिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?