logo
२०८१ मंसिर १३ बिहीवार



बैतडीका दश स्थानीय तहमा २३३ जनामा सङ्क्रमण पुष्टि

प्रदेश |


बैतडीका दश स्थानीय तहमा २३३ जनामा सङ्क्रमण पुष्टि


गोकर्ण दयाल
बैतडी, असार १५ गते । बैतडीका दश स्थानीय तहमा कोरोनाभाइरस ( कोभिड–१९ ) को सङ्क्रमण फैलिएको छ । चार नगरपालिका र छ गाउँपालिकामा २३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । भारतसँग सीमा जोडिएका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकामा सङ्क्रमित हुनेको सङ्ख्या बढी छ ।

स्वास्थ्य कार्यालय, बैतडीका अनुसार, पञ्चेश्वर गाउँपालिकामा ५० जना, शिवनाथ गाउँपालिकामा ४८ जना, दशरथ चन्द नगरपालिकामा ३० जना, दोगडाकेदार गाउँपालिकामा २९ जना, सिगास गाउँपालिकामा ३६ जना, पाटन नगरपालिकामा ११ जना, मेलौली नगरपालिकामा पाँच जना, डिलासैनी गाउँपालिकामा सात जना, सुर्नया गाउँपालिकामा १० जना, पुरचौडी नगरपालिकामा सात जना र मेलौली नगरपालिकामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये २६ जना महिला र २०७ जना पुरुष गरेर २३३ जना रहेका छन् । सङ्क्रमित सबै भारतबाट आएको स्वास्थ्य कार्यालय, बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो । बैतडीका १० स्थानीय तहमा एक हजार २२७ जना क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये अझै ४२६ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, बैतडीले जानकारी दिएको छ ।

पीसीआर पोजिटिभलाई घर पठाउँदा समुदायमा सङ्क्रमणको जोखिम

स्वास्थ्य कार्यालय, बैतडीका अनुसार सङ्क्रण पुष्टि भएका २३३ जनामध्ये अधिकांशमा कोरोनाको लक्षण नदेखिएको भन्दै स्थानीय तहले सीधै घर पठाउँदा समुदायमा सङ्क्रमण फैलिने खतरा रहेको छ ।

पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई दोस्राे पटक जाँच गरेर मात्र घर पठाउनुपर्ने दशरथ चन्द नगरपालिकाका स्थानीयवासी वासुदेश भट्टले बताउनुभयो । पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएकाहरूमा कुनै पनि लक्षण नदेखिए रोग सर्ने सम्भावना न्यून हुने भएकोले पीसीआर परीक्षण गरेको १४ दिनपछि घर पठाउँदा समस्या नपर्ने स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्ट बताउनुहुन्छ ।

पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको मितिबाट थप १४ दिन स्थानीय तहको आइसोलेसनमा राखेर लक्षण नभएकालाई घर पठाइनेगरेको दशरथ चन्द नगरपालिकाका उपप्रमखु मीना चन्दले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?