logo
२०८१ फाल्गुन २० मंगलवार

  कोरोनामुक्त हुँदै बाँके  



जम्मा ७१ क्वारेन्टाइन र नाै आइसोलेसन सेन्टर खाली

प्रदेश |


जम्मा ७१ क्वारेन्टाइन र नाै आइसोलेसन सेन्टर खाली


सिराज खान
नेपालगञ्ज, असार १५ गते । बाँके जिल्लामा नयाँ सङ्क्रमित फेला पर्ने क्रम रोकिएसँगै आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरू समयावधि पूरा गरेर घर फर्किएपछि जिल्लाका ७१ वटा क्वारेन्टाइन र नाै वटा आइसोलेसन सेन्टर खाली भएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार जिल्लामा निर्माण गरिएका ११४ वटा क्वारेन्टाइन र १४ वटा आइसोलेसन अस्पताल तथा सेन्टरमध्ये अहिले ४३ वटा क्वारेन्टाइन र पाँच वटा आइसोलेसन सेन्टर मात्र प्रयोगमा रहेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले अहिले जिल्लाका ४३ वटा क्वारेन्टाइनमा ५९८ जना र पाँच वटा आइसोलेसनमा ३३ जना मात्र रहेको बताउनुभयो ।
उहाँले नयाँ सङ्क्रमित फेला पर्ने क्रम रोकिएसँगै आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरू समयअवधि पूरा गरेर घर फर्किएपछि क्वारेन्टाइन र आइसोलेसनहरू खाली हुँदैगएको जनाउनुभयो ।
केही समयअघि सात हजारभन्दा बढी क्वारेन्टाइनमा रहेकोमा समयअवधि पूरा भएसँगै परीक्षण गरेर घर पठाउँदै गएकोले अहिले सो सङ्ख्या घटेर ५९८ मा झरेको र ३५२ जना सङ्क्रमित फेला परेकोमा ३१७ जना निको भएर घर फर्किएकोले अब ३३ जना मात्र आइसोलेसनमा रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जमा रहेका दुई वटा क्वारेन्टाइनमध्ये एक खाली छ भने अर्कोमा अहिले ६६ जना रहेका छन् । सोही प्रकारले कोहलपुरमा रहेका १६ वटा क्वारेन्टाइनमध्ये १३ वटामा २२२ जना रहेका छन् भने तीन वटा खाली भइसकेका छन् ।
यस्तै खजुरामा रहेका २२ वटा क्वारेन्टाइनमध्ये १२ वटामा ३५ जना रहेका छन् भने १० वटा खाली भइसकेका छन् । जानकी गाउँपालिकाका आठ वटा सबै क्वारेन्टाइन खाली रहेका छन् ।
बैजनाथ गाउँपालिकाका २२ वटा क्वारेन्टाइनमध्ये ११ वटामा १३० जना रहेका छन् भने ११ वटा खाली भइसकेका छन् ।
कोरोना हटस्पट बनेको नरैनापुरमा रहेका १७ वटा क्वारेन्टाइनमध्ये तीन वटामा ३१ जना मात्र रहेका छन् भने १४ वटा क्वारेन्टाइन खाली छन् । डुडुवामा रहेका आठ क्वारेन्टाइनमध्ये एक वटामा पाँच जना रहेका छन् भने सात वटा खाली भइसकेका छन् । राप्तीसोनारी गाउँपालिकामा रहेका १८ वटा क्वारेन्टाइनमध्ये दुई वटामा नाै जना रहेका छन् भने १६ वटा खाली भइसकेका छन् ।
यसैगरी, जिल्लामा रहेका १४ वटा आइसोलेसन अस्पताल र सेन्टरमध्ये पाँच वटामा ३३ जना सङ्क्रमित रहेका छन् भने नाै वटा खाली भइसकेको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?