logo
२०८१ फाल्गुन २० मंगलवार



खाली हुँदैछन् क्वारेन्टाइन र आइसोलेसन

प्रदेश |


खाली हुँदैछन् क्वारेन्टाइन र आइसोलेसन


प्रदेश ५ ब्युरो

बुटवल, असार १६ गते । कुनै बेला खचाखच भरिएको प्रदेश ५ मा क्वारेन्टाइन खाली हुने क्रम बढ्दै गएको छ । परीक्षण र बसाइ अवधि सकिएर घर फर्किनेको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइन खाली हुँदै गएका छन् । सङ्क्रमित निको हुने क्रमसँगै आइसोलेसनमा पनि चाप कम हुँदै गएको छ ।
बाँकेमा ७१ वटा क्वारेन्टाइन र नौवटा आइसोलेसन सेन्टर खाली भइसकेका छन् । रुपन्देही, गुल्मी, कपिलवस्तुलगायतका जिल्लामा पनि क्वारेन्टाइनमा चाप उल्लेख्य रूपमा कम भइरहेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशङ्कर चौधरीका अनुसार भारतबाट फर्केर ठूलो सङ्ख्यामा क्वारेन्टाइनमा बसेकाहरूको बसाइ अवधि पूरा भएसँगै परीक्षण नतिजा नेगेटिभ आएर घर फर्किरहेकाले क्वारेन्टाइन खाली भइरहेका हुन् । यो प्रदेशमा एक हजार ८१६ स्थानमा ६१ हजार ६२८ शøया क्षमताका क्वारेन्टाइन बनाइएका थिए । तिनमा अहिलेसम्म ७५ हजार बसेका थिए । तीमध्ये अब १३ हजार ३७९ जना बाँकी छन् ।

नेपालगञ्ज समाचारदाताका अनुसार बाँके जिल्लामा नयाँ सङ्क्रमित फेला पर्ने क्रम रोकिएसँगै आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरू समयावधि पूरा गरेर घर फर्किएपछि जिल्लाका ७१ वटा क्वारेन्टाइन र नौवटा आइसोलेसन सेन्टर खाली भइसकेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारीअनुसार जिल्लामा निर्माण गरिएका ११४ वटा क्वारेन्टाइन र १४ वटा आइसोलेसन अस्पताल तथा सेन्टरमध्ये अहिले ४३ वटा क्वारेन्टाइन र पाँचवटा आइसोलेसन सेन्टर मात्र प्रयोगमा छन् ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति नरेश श्रेष्ठले अहिले जिल्लाका ४३ वटा क्वारेन्टाइनमा ५९८ र पाँचवटा आइसोलेसनमा ३३ जना मात्र रहेको बताउनुभयो । उहाँले नयाँ सङ्क्रमित फेला पर्ने क्रम रोकिएसँगै आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरू समयावधि पूरा गरेर घर फर्किएपछि खाली हुँदै गएको बताउनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार नेपालगञ्जमा रहेका दुईवटा क्वारेन्टाइनमध्ये एक खाली छ भने अर्कोमा ६६ जना छन् । कोहलपुरमा रहेका १६ वटा क्वारेन्टाइनमध्ये १३ वटामा २२२ जना छन् भने तीनवटा खाली भइसकेका छन् । खजुरामा रहेका २२ वटा क्वारेन्टाइनमध्ये १२ वटामा ३५ जना छन् भने १० वटा खाली भइसकेका छन् । जानकी गाउँपालिकाका आठवटा सबै क्वारेन्टाइन खाली छन् । बैजनाथ गाउँपालिकाका २२ वटा क्वारेन्टाइनमध्ये ११ वटामा १३० जना छन् भने ११ वटा खाली भइसकेका छन् ।
कोरोना हटस्पट बनेको नरैनापुरमा रहेका १७ वटा क्वारेन्टाइनमध्ये तीन वटामा ३१ जना छन् भने १४ वटा क्वारेन्टाइन खाली छन् । डुडुवामा रहेका आठ क्वारेन्टाइनमध्ये एकमा पाँच जना छन् भने सातवटा खाली भइसकेका छन् । राप्तीसोनारी गाउँपालिकामा रहेका १८ वटा क्वारेन्टाइनमध्ये दुईमा नौ जना छन् भने १६ वटा खाली भइसकेका छन् ।

तम्घास समाचारदाताका अनुसार गुल्मीमा पनि निको हुने र बसाइ अवधि पूरा गरेर घर फर्किनेको सङ्ख्या बढेसँगै क्वारेन्टाइन र आइसोलेसनमा चाप घटिरहेको छ । सोमबार एकै दिन १८ जना कोरोना सङ्क्रमित निको भएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?