मकवानपुर समाचारदाता
हेटौँडा, असार १६ गते । हेटौँडा उपमहानगरपालिका–४, कर्रास्थित सूर्यचोक बस्ने सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा पक्राउ परेका परिवारका चार जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका मृतकका ससुरा प्रकाश थापा, तुलसा थापा, नन्दहरू दुर्गा थापा र सीता थापालाई सार्वजजिक गरेको हो ।
मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले घटनाको प्रारम्भिक अनुसन्धानबाट २४ वर्षीया सुस्मिताको हत्यामा मृतकका ससुरा प्रकाश, सासू तुलसा र दुइटी नन्द सीता थापा र दुर्गा थापाको संलग्नता रहेको जानकारी दिनुभयो । सुस्मितालाई आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला पारेको भन्दै असार २ गते बिहान परिवारका सदस्यले वडा प्रहरी कार्यालयमा खबर गरेका थिए । स्थानीय जनप्रतिनिधि र माइती पक्षको रोहबरमा ढोका फोरी हेर्दा उत्तानो परेको र टाउकोमा चोट लागी रगत बगेको अवस्थामा सुस्मिताको शव फेला परेको प्रहरी उपरीक्षक राठोरले बताउनुभयो ।
घटनापछि प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको नेतृत्वको अनुसन्धान टोली गठन गरी मृतकका सास, ससुरा र नन्दहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताउँदै उहाँले भन्नुभयो, “आर्थिक तथा पारिवारिक कारणले सुस्मिताको हत्या भएको अनुसन्धानबाट खुलेको छ । ”
गत वैशाख १ गते राति नन्द सीता र सुस्मिता खाना खाइरहेको समयमा ससुराले बाहिरबाट काठको लौरो ल्याएर भान्सा कोठामा प्रवेश गरी बुहारीको टाउकोमा प्रहार गरेको र भुइँमा लडेपछि नन्द सीताले लोहोरोले प्रहार गरेकी थिइन् । यसरी बाबु र छोरी मिलेर सुस्मितामाथि पटक–पटक लौरो र ढुङ्गाको लोहोरो प्रहार गरी हत्या गरिएको अनुसन्धानका क्रममा खुल्न आएको छ । हत्यापछि आत्महत्या गरेको देखाउन भान्सा कोठाको सामान मिलाउने, रगत पुछ्ने, सरसफाइ गर्नेलगायतका कार्य गरेको पाइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राठोरले बताउनुभयो ।
गत वर्ष २०७६ वैशाख १८ गते सुस्मिता र रूपेन्द्र थापा वैवाहिक जीवनमा बाँधिएकोमा गत असोज २३ गते कपिलवस्तुस्थित ससुराली घरबाट फर्कने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा परी थापाको मृत्यु भएको थियो । पतिको मृत्युपछि सुस्मितालाई तिम्रै कारणले रूपेन्द्रको मृत्यु भएको हो भन्ने आरोप लगाउँदै मानसिक यातना दिने गरेको पाइएको छ । साथै ससुरा प्रकाशले सुस्मितालाई बाथरुममा जबरजस्ती करणी उद्योग गरेकोसमेत पाइएको प्रहरी उपरीक्षक राठोरले बताउनुभयो ।
पतिको सवारी दुर्घटनामा मृत्युपछि क्षतिपूर्तिबापत पाउने पाँच लाख रुपियाँ हकवाला सुस्मिताले प्राप्त गरेकोमा घर पक्षले आफूहरूले पाउनुपर्ने भन्दै विवाद गरेको र रूपेन्द्र काम गर्ने क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रा.लि. हेटौँडाबाट पाउने बीमा, बोनस, तलब भत्तालगायतको ३८ लाख २८ हजार ४७२ रुपियाँमा सुस्मिता र सासूससुराबीच विवाद भई हालसम्म भुक्तानी नभएको पाइएको छ । साथै सामाजिक सुरक्षा कोषबापतको गत कात्तिकदेखि वैशाखसम्मको एक लाख ७७ हजार ९४८ रुपियाँ सुस्मिताको खातामा जम्मा भएको, बीमाबापतको १० लाख ६३ हजार ९१४ रुपियाँ इच्छाएको व्यक्ति रूपेन्द्रका पिता प्रकाश थापाले लिइसकेको र सुस्मितालाई प्राप्त हुने सबै रकम आफूलाई दिनुपर्छ भन्दै दबाब दिएपछि सुस्मितामाथि हत्या योजना बनाएको पाइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राठोरले बताउनुभयो ।
हत्या अभियोगमा पक्राउ परेकामाथि मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४१ (क) बमोजिम क्रूर यातना दिई ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद हुने गरी सजायको मागदाबी गरिने भएको छ ।