तारा चापागाईं दुबे
पोखरा, असार १७ गते । गण्डकी प्रदेशमा बुधबार २८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा छ जिल्लामा २८ जनामा बुधबार बिहान कोरोना पुष्टि भएको हो ।
नवलपुरमा १० पुरुष र दुई जना महिलासहित १२ जना, गोर्खामा एक महिला दुई पुरुष गरी तीन जना, कास्कीमा एक पुरुष, स्याङजामा तीन महिला र पाँच पुरुष गरी आठ जना, बाग्लुङमा तीन महिला र तनहुँमा एक महिलामा कोरोना पुष्टि भएको छ ।
सबै सङ्क्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
८३ वर्षीय पुरुष निको भएर घर फर्के
त्यसैगरी, मुस्ताङ जिल्ला मङ्गलबारबाट कोरोनामुक्त भएको छ । असार ६ गते कोरोना पुष्टि भएका ८३ वर्षीय पुरुष निको भएर घर फर्केसँगै मुस्ताङ कोरोनामुक्त भएको हो । सङ्क्रमण पुष्टि भएपछि ती वृद्धलाई जोमसोमस्थित आइसोलेसन कक्षमा राखिएको थियो । प्रदेशमा हालसम्म कोरोनाले दुई पुरुषको मृत्यु भएको छ ।