logo
२०८१ मंसिर १३ बिहीवार



बाजुरामा सलह पुगेपछि किसान चिन्तित

प्रदेश |


बाजुरामा सलह पुगेपछि किसान  चिन्तित


शेरबहादुर सार्की
बाजुरा, असार १८ गते । बाजुराको आकाशमा पनि सलह देखिन थालेको छ । सलहको एक समूह बुधबार बेलुका झण्डै ६ बजे जिल्लाको गौमूल गाउँपालिका–२ पौदालीको आकाशमा देखा परेको हो ।

झण्डै एक हजारभन्दा बढीको समूहमा आकाशमा फट्याङ्ग्राजस्तै सलह घुमिरहेको गौमूल –२ पौदालीका किसान रामचन्द्र धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'देशका विभिन्न ठाउँमा सहलले खेती नष्ट पारेको सुनेका थियौँ । त्यो सलह आज बाजुराको गाउँमै घुम्नथालेपछि यसले खेतीलाई नष्ट पार्छ कि भन्ने निकै डर पसेको छ ।' त्यस्तै गौमूलकै स्थानीय किसान धन धामीले भन्नुभयो, 'सलहले देखिने सबै अन्नबालीलगायत अन्य घाँसपातसमेत सिध्याउँछ भन्ने सुनेका छौँ, बुधबारमा यो सलह गौमूलको आकाशमै प्रष्ट देखिएको छ । यो मकैबारी बस्यो भने त निकै नष्ट गर्छ ।'

बर्खाको समयमा कडा परिश्रम गरेर लगाउँदै गरेको खेतीमा सलहको रजाइँ हुने सम्भावना देखिएपछि बाली सखाप पार्ने डरले बाजुराका किसान चिन्तामा परेका हुन् । गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलह बाजुरामा पनि सामान्य झुण्ड टुक्रिएर पुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले त्यो सलहलाई छोपेर यो सलह हो कि होइन भनेर त्यसको फोटा खिचेर विषादी व्यवस्थापन केन्द्र काठमाडाैँ पठाउँदा सलह नै भएकाे प्रष्ट भएपछि बाजुरामा सलह आएको जानकारी गराइएको हो ।'

गत मङ्गलबार जिल्लाका विभिन्न ठाउँमा सामान्यरुपमा सलह फैलिएको ज्ञान केन्द्र बाजुराका प्रमुख सिजापतीले बताउनुभयो । प्रमुख सिजापतीले भन्नुभयो, 'बाजुराको केही स्थानमा थोरै सङ्ख्यामा सलह देखlएकाले छिट्टै सलहको झुण्ड नै फैलन सक्ने भएकाले सबै कृषकलाई सचेत हुन र समयमै कृषि ज्ञान केन्द्रमा सलहकाे समूह आएको नआएको बारे जानकारी गराउन सम्पूर्ण स्थानीय तह, कृषक र कृषि शाखालाई समेत जानकारी पठाएका छौँ ।'

बाजुरामा सलह कीरा फाट्टफुट्ट देखिएको भए पनि पछि यसले निकै असर गर्ने भएकोले कृषकले समयमै सचेत हुनुपर्ने सिजापतीले बताउनुभयाे । किसानले यो सहलको समूह खेतबारी तथा मकैबारीमा बस्नेबित्तिकै थाली, ड्रम बजाउने र खरानी छर्कनपर्ने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?