logo
२०८१ फाल्गुन २२ बिहीवार



मोरङका १५ स्थान बाढीको उच्च जोखिममा

प्रदेश |


मोरङका १५ स्थान बाढीको उच्च जोखिममा


महेन्द्र विष्ट

विराटनगर, असार २१ गते । मोरङका १५ स्थान बाढी र डुबानको उच्च जोखिममा रहेका छन् ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमासम्बन्धी बैठकले ती उच्च जोखिमका क्षेत्र पहिचान गरेको हो । केही स्थानमा तत्काल मर्मत तथा नियन्त्रणका काम नगरे तटबन्धन भत्किने, नदीले धार परिवर्तन गर्ने, गाउँबस्ती र कृषि भूमिसमेत डुबानमा परी ठूलो जनधनको क्षति हुने सम्भावना रहेको पनि सो बैठकको ठहर छ ।
बक्राहा खोलाबाट मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. ६, ७ र ९ उर्लाबारी नगरपालिकाको वडा नं. १ र ४, पथरी शनिश्चरे नगरपालिकाको वडा नं. ५, सुनवर्षी नगरपालिकाको वडा नं. ३ र रतुवामाई नगरपालिकाको वडा नं. १, ५ र ९ उच्च जोखिमका क्षेत्र हुन् ।
त्यसैगरी, लोहोन्द्रा खोलाका कारण बेलबारी नगरपालिका वडा नं. १, ग्रामथान गाउँपालिका वडा नं. ४ कटहरी गाउँपालिका वडा नं. ६ उच्च जोखिममा छन् भने चिसाङ खोलाबाट लेटाङ नगरपालिका वडा नं. २, गछिया खोलाले सुन्दर हरँैचा नगरपालिका वडा नं. ६ र टाडो खोल्साले सुन्दर हरैचाकै वडा नं. ९ जोखिममा रहेको ठहर गरिएको छ ।
जिल्लामा नदी नियन्त्रणसम्बन्धी काम गर्दै आएको कोसी तथा बक्राह नदी व्यवस्थापन आयोजनाले तयार गरेको प्रतिवेदनका आधारमा ती जोखिमपूर्ण स्थानको पहिचान गरिएको हो । आयोजनाका प्राविधिकले गरेको स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार गरिएको कोसी तथा बक्राह नदी नियन्त्रण आयोजनाका फिल्ड इन्जिनियर बलराम भण्डारीले बताउनुभयो ।

दर्जनौँ बस्ती जोखिममा
उच्च जोखिममा रहेका ती स्थानबाट नदीले कटान वा धार परिवर्तन गरेमा दर्जनौँ बस्तीमा क्षति पुग्ने अनुमान गरिएको छ जसका कारण खोला किनारमा रहेका मिक्लाजुङ गाउँपालिकाका खामेझोडा, बेतनी, कसेनी, रचना, चिसापानी, कुइने टार, शिसौली, शान्ति चोक, नयाँ पुल बस्ती उच्च जोखिममा पर्न सक्छन् ।
त्यस्तै, उर्लाबारी नगरपालिकाका राजघाट, विशाल टोल, थापाडाँगी टोल, किसान चोक, कौपिला चोक, कान्छी चोक, मेचे डाँगी, इँटाभट्टा तथा पथरी–शनिश्चरे नगरपालिकाको जयनगर, सुन्दरी चोक, सुनझोडा, कसेनीका बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्नेछन् ।
त्यस्तै, रतुवामाई नगरपालिका अन्तर्गत लेटी गोविन्दपुर, भौडा, झपरतल, गिरी टोल, कैमी तथा सुनवर्षी नगरपालिकाअन्तर्गत, सुँगा बजार, खयरबारी, बाबनडुब लगायतका तीन दर्जनभन्दा बढी टोल–बस्ती जोखिममा छन् भने लोहन्द्रा खोलाका कारण बेलबारी नगरपालिकाको वडा नं. १ देखि ५ सम्मका बस्ती जोखिममा रहेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
लोहन्द्रा खोलाले धनपालथान गाउँपालिकाको दादरबैरिया, रङ्गेलीको बबियाविर्ता, कटहरीको नयाँबजार आसपासका बस्ती बढी जोखिममा रहेको मोरङको जलस्रोत तथा सिँचाइ विकास विभागले जनाएको छ ।
विराटनगर महानगरका केही वडाका बस्ती पनि बाढीको जोखिममा छन् । विराटनगर महानगरपालिका वडा नं. ४, ५, ६ र ११ का कतिपय बस्ती बूढी केशलिया र महानगरकै वडा नं. १, ८, १०, १९ र ११ नं. का बस्ती सिङ्गिया खोलामा आउन सक्ने बाढीको जोखिममा रहेको सो विभागले जनाएको छ ।
सयौँ बस्ती वर्षायाममा आउने बाढीको जोखिममा रहे पनि नदी नियन्त्रणको काम भने प्रभावकारी रूपमा हुन नसकेको स्थानीय जनप्रतिनिधिको आरोप छ । केन्द्रीय योजनामार्फत नदीका दुवै किनारमा तटबन्धन नगरेसम्म बाढीको जोखिम सधैँ रहने प्रदेश १ प्रदेश सभाका सदस्य उपेन्द्र घिमिरेले बताउनुभयो ।
त्यसैगरी, नदीको व्यवस्थापन योजना बद्ध रूपमा गर्न सके मात्र वर्षायाममा आउने बाढीबाट हुने क्षति कम गर्न सकिने कुरा प्रदेश १ को जलस्रोत तथा ऊर्जा विकास महाशाखाका प्रमु्ख रमेश पौडेल बताउनुभयो ।

तराईको विनाशमा चुरेको पहिरो
मोरङमा झण्डै एक दर्जन नदी चुरे क्षेत्रबाट उत्पत्ति भई दक्षिणतर्फ बग्ने गर्छन् । यी नदीमा आउने बाढीका कारण बर्सेनि आसपासको बस्ती र खेतीयोग्य जमिन डुबाउने गरेको छ ।
बाढीसँगै चुरे क्षेत्रबाट बगेर आउने सिल्टेसनका कारण नदी नियन्त्रणका लागि निर्माण गरिएका बाँध पनि केही वर्षमै पुरिएर काम नलाग्ने अवस्थामा पुग्ने गर्दछन् । जसले गर्दा तराईमा नदी नियन्त्रणका लागि बाँध निर्माण कार्य खर्चिलो बन्ने गरेको छ, पौडेलले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?