logo
२०८१ मंसिर १३ बिहीवार



बैतडीको सिगासमा पहिरो खस्दा एक घर पुरियो, छ घर जोखिममा

प्रदेश |


बैतडीको सिगासमा पहिरो खस्दा एक घर पुरियो, छ घर जोखिममा
सांकेतिक तस्विर


गोकर्ण दयाल
बैतडी, असार २१ गते । बैतडीको सिगास गाउँपालिका–६, थलाकाँडाको खेती गाउँमा पहिरो खस्दा एक घर पुरिएको छ । छ वटा घर जोखिममा परेका छन् । आइतबार  बिहान ७ बजे परेको मुसलधारे पानीसँगै थलाकाँडाको खेती गाउँमाथिको पूरै डाँडामा चिरा परेर पहिरो खस्दा स्थानीय डम्बरसिंह ऐरको घर पुरिएको हो ।

आइतबार  बिहान डाँडाबाट पहिरो खस्दा गाउँलेले भागेर ज्यान जोगाएका छन् । अहिले पनि त्यहाँ पहिरो खसिरहेको थलाकाँडाबाट रामसिंह धामीले टेलिफोनमार्फत गोरखापत्रलाई जानकारी दिनुभयो । धामीले भन्नुभयो, “बिहानको समय भएकोले भागेर ज्यान जोगायौँ । थलाकाँडाको खेती गाउँमाथिको डाँडाबाट अहिले पनि पहिरो खसिरहेको छ । हामी लालाबाला र वस्तुभाउ लगेर गाउँबाट टाढा गएका छौँ ।”

पहिरोले डम्बरसिंह ऐरको घर पुरिएको जानकारी दिँदै धामीले भन्नुभयो, “पहिरोले छ वटा घर जोखिममा परेका छन् । चन्द्रसिंह बोहरा, धनश्याम बोहरा, राम बोहरा, डम्बरसिंह ऐर र मानवीरको घर उच्च जोखिममा परेका छन् ।” पहिरोले रामसिंह साउद र चक्रसिंह साउदका खेत पुरिएको पहिरो पीडितले जानकारी दिएका छन् ।  घटनाबारे जिल्ला प्रहरी कार्यालय, बैतडीले भर्खरै खबर प्राप्त भएकोले बुझ्ने काम भइरहेको जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?