logo
२०८१ फाल्गुन २२ बिहीवार



अवरोधबीच सुदूरपश्चिम प्रदेशको बजेट पारित

प्रदेश |


अवरोधबीच सुदूरपश्चिम प्रदेशको बजेट पारित



अविनाश चौधरी
धनगढी, असार २४ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट बुधबार प्रदेश सभाबाट पारित गरेको छ ।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी (जसपा) को अवरोधकाबीच बजेट पारित भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथाममा गरेको खर्चको विवरण सदनमा प्रस्तुत र संसदीय समिति बनाएर त्यसको छानबिन गर्नुपर्ने अडानसहित प्रतिपक्षीले सदनमा अवरोध गर्दै आएको थियो । तर, प्रतिपक्षीको अवरोधबीच सभामुख अर्जुनबहादुर थापाले बैठक अघि बढाएर सभाबाट बजेट पारित भएको घोषणा गर्नुभएको हो ।

बुधबार बिहान दुई र दिउँसो एक गरी तीन पटक बसेको बैठकमा पनि प्रतिपक्षी दलबाट निरन्तर अवरोध भएको थियो । रोस्टम घेराउ गरेर प्रतिपक्षी सदस्यहरूले सरकार विरोधी नाराबाजीसमेत गर्नुभएको थियो ।

बजेट कार्यान्वयनका लागि बनेको सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश सञ्चिती कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको थापाले घोषणा गर्नुभयो । आर्थिक वर्ष २०७७/०७८ को राजस्व एवम् व्यय अनुमान र आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि दुवै विधेयक आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सदनमा पेश गर्नुभएको थियो ।

यसअघि, विधेयकमाथि छलफलमा भाग लिँदै सत्तापक्षका प्रदेश सभा सदस्य दुर्गा कामीले बजेट छिटो कार्यान्वयनका लागि सरकारले ल्याएको विधेयक राम्रो रहेकाले छिट्टै पारित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले कोरोना महामारीलाई मध्यनजर गरेर करको दायरादेखि छुटसम्मको व्यवस्था विधेयकले गरेको उल्लेख गर्दै भन्नुभयो–‘व्यवसाय र विकास साझेदारका लागि पनि विधेयकले राम्रो व्यवस्था गरेको छ ।’

यस्तै, महेशदत्त जोशीले बजेटमाथि प्रतिपक्षीको विरोध नरहेकाले तुरुन्त सर्वसम्मतले पारित हुनुपर्नेमा जोड दिनुभयो । तर, प्रतिपक्षीले सदन अवरोध गरेर जनताको भावनालाई अवरोध गरिरहेको उहाँको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपियाँको बजेट ल्याएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले विपक्षी दलको सहमतिविना सदनबाट बजेट पास गरिएको प्रतिक्रिया दिनुभयो । प्रदेश सभा सरकारको जननी हुनुपर्नेमा प्रदेश सरकारको महाशाखा जस्तै भएको भन्दै उहाँले थप्नुभयो–‘सरकारले सदनको सम्मान गर्न सकेको छैन । हामीले बजेट घोषणापूर्व नै सरकारलाई चेतावनी दिएका थियौँ । तर, सरकार गम्भीर भएन ।’

उहाँले जनताको जीउ ज्यानको सुरक्षाको प्रत्याभूत गर्न प्रदेश सरकार गम्भीर नहरेकाले पूर्ण रुपमा असफल भइसकेको प्रतिक्रिया दिनुभयो । ‘यो सरकार आफ्नो स्वार्थपूर्तिमा मात्रै लागेको छ’, रावलले भन्नुभयो ।

यसैगरी, बजेटमा प्रतिपक्षको असहमति हो भने सभामुखले निर्णायार्थ प्रस्तुत गर्दा प्रतिपक्षीबाट ‘हुन्न’ भन्ने आवाज किन आउँदैन, भनेर सोधिएको प्रश्नमा रावलले भन्नुभयो–‘हामीले सरकारको विरुद्धमा सदनमै नारा लगायौं, त्यहीँ नै हुन्न भन्ने जवाफ हो ।’

कोरोनाले प्रदेश प्रभावित भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कोरोना नियन्त्रणमैत्री बजेट नल्याएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?