वसन्त पराजुली
सौराहा, असार २५ गते । बन्दाबन्दीले सौराहामा पर्यटक आउन छोडेपछि सौराहासँग आश्रित मजदुर तथा कर्मचारी र साना व्यवसायीलाई हातमुख जोर्ने समस्या भएको छ । विशेष गरी तल्लो तहमा काम गर्ने मजदुर तथा कर्मचारी र स्वरोजगार साना व्यवसायी बढी पीडित भएका छन् ।
कामविहीन भएर फुर्सदिला बनेका मजदुर तथा कर्मचारी र व्यवसायीले तलब पाउन छोडेका छन् । निजी क्षेत्रबाट हात्ती चलाउने माउते दशैं चौधरी सौराहामा पर्यटक आउन छोडेपछि सबैभन्दा पीडित आफूहरू भएको दुखेसो पोख्नुहुन्छ ।
पर्यटक घुमाउन पाउँदा महिनैपिच्छे तलब पनि आउँथ्यो, पर्यटकले खुसी भएर टिप्स पनि दिन्थे । अहिले दुवै आउन छोडेपछि के गरेर परिवार पाल्ने हो भन्ने भएको छ, उहाँले भन्नुभयो । यतिन्जेल त बल्लतल्ल खान पुगेको थियो, अब त घरमा चुल्हो बल्न छोड्ने अवस्था आएको उहाँको गुनासो छ । सौराहामा निजी क्षेत्रका तर्फबाट रहेका ५७ वटा हात्ती चलाउन १५० को हाराहारीमा माउते छन् ।
यस्तै सौराहामा पर्यटक आउन छाडेसँगै थारू संस्कृति पनि बन्द छ । यहाँ रहेका दुईवटा थारू सांस्कृतिक समूहमा ७५ जना कलाकारले काम गर्दै आएका छन् ।
साँझमा दुई घण्टा पर्यटकलाई मनोरञ्जन दिन नाचिन्थ्यो, त्यसैको आम्दानीले आफ्नो घरखर्च टथ्र्यो, अहिले समस्या भयो, कलाकार रघुसिंह चौधरीले भन्नुभयो । सौराहामा थारू कल्चरमा नाच्ने कलाकारहरू तीन समूहका छन् । सबैको आम्दानीको स्रोत नाचगान भए पनि अहिले बन्द हुँदा उनीहरू पूर्ण रूपमा बेरोजगार भएका छन् । सौराहाका होटल तथा रेस्टुरेन्टमा काम गर्ने झन्डै पाँच हजारको हाराहारीका मजदुर पनि कामविहीन छन् । सौराहामै आश्रित जिप सफारी, रिक्साचालक, टाँगा चालक, तरकारी तथा फलफूल उत्पादक किसान, विभिन्न उपहारका पसल तथा काठका मूर्ति बनाउने मूर्तिकारसमेत बन्दाबन्दीको प्रभावको मारमा परेका छन् । सौराहाको पर्यटनमै आश्रित जिप सफारीमा ३० वटा जिप र त्यसका चालक, १० वटा टाँगा र ३० वटा अटोरिक्सा चालक पनि नराम्ररी प्रभावित भएका छन् ।
सौराहामा सटर भाडामा लिएर स्वरोजगारीमा लागेका साना व्यापारीले पनि धमाधम सटर छाड्न लागेका छन्, क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया भन्नुहुन्छ, “पर्यटकको चहलपहल नै रोकिएपछि के आधारमा टिकुन् । ”
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष गिरीधारी चौधरी सौराहामा पर्यटकको चहलपहल रोकिएसँगै कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनको आम्दानी पनि गुमेको बताउनुहुन्छ । पर्यटकबाट एउटै सामुदायिक वनले दैनिक एक लाख रुपियाँभन्दा बढी आम्दानी गर्थे तर तीन÷तीनवटा सामुदायिक वनको आम्दानी रोकिँदा त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीले समेत तलब नपाउने अवस्था छ, उहाँले भन्नुभयो ।
लामो बन्दाबन्दीबाट सौराहाका होटल व्यवसायीका होटलका फर्निचरमा धुलिया लाग्ने, कपडामा ढुसी लाग्ने, होटल वरपर झाडी बढ्नेजस्ता समस्या देखिएका छन् ।
सौराहाको सेभेन स्टार होटलका सञ्चालक माधव दुवाडी भन्नुहुन्छ, लकडाउनले समस्यैसमस्या भोग्नुपरेको सौराहामा अब होटल सञ्चालनमा ल्याउन पाइयो भने पनि रङ्गरोगन, बिग्रिएका कपडा खरिद, सरसफाइलगायतमा एउटा होटलले २५ देखि ३० लाख रुपियाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ ।
दुवाडीका अनुसार, सौराहामा अहिले सबैभन्दा ठूलो समस्या हात्तीको चरिचरनको भएको बताउनुहँुदै अहिले हात्ती महाजनले हात्तीलाई के खुवाएर पाल्ने भन्ने समस्या जटिल भएको छ । यहाँ अहिले निजी क्षेत्रसँग ५७ वटा हात्ती रहेका छन् ।