logo
२०८१ बैशाख २६ बुधवार



सुदूरपश्चिममा भारतबाट आउने कम भएसँगै सङ्क्रमण दर घट्यो

प्रदेश |


सुदूरपश्चिममा भारतबाट आउने कम भएसँगै सङ्क्रमण दर घट्यो


अविनाश चौधरी
धनगढी, असार २७ गते । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दरमा कमी आएको छ । भारतबाट फर्किनेको सङ्ख्या कम भएको र क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमण दरमा कमी आएको हो ।
भारतबाट फर्किनेहरूको लर्को लागेको बेला यो प्रदेशमा कोरोना सङ्क्रमणदर उच्च बनेको थियो । जेठ अन्तिमदेखि असार तेस्रो सातासम्म नयाँ सङ्क्रमितको सङ्ख्या झनै बढेको थियो । बाह्य मुलुकबाट आउनेको सङ्ख्या घटेसँगै नयाँ सङ्क्रमण दर पनि कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

‘अहिले मुलुकभन्दा बाहिरबाट आउनेको सङ्ख्या घटेको छ’, उहाँले भन्नुभयो । ‘क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमित फेला पर्नेक्रम कम भएको हो ।’
मुलुकभन्दा बाहिरबाट आउनेको चाप घटेसँगै स्वाब सङ्कलनमा पनि कमी आएको छ । यद्यपि, ‘कन्ट्याक्ट ट्रेसिङ’ भएका र शङ्कास्पद् व्यक्तिको स्वाब सङ्कलन र परीक्षण भने भइरहेको छ । तर, भारतबाट आउने व्यक्तिको स्वाब सङ्कलन र परीक्षणमा कमी आएको अवस्थीले बताउनुभयो ।

‘अब बाहिरबाट आएका व्यक्तिको परीक्षण लगभग सकिएको छ’, उहाँले भन्नुभयो, ‘तत्काल सबै जनताको परीक्षण गर्ने भने तयारी छैन ।’ सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट अनुसार शुक्रबार २४१ स्वाब नमूना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसैगरी, पछिल्लो एक सातामा एक हजार ४०८ नमूना परीक्षण गर्दा १४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको शुक्रबारको तथ्याङ्क अनुसार यो प्रदेशमा सङ्क्रमितको जम्मा सङ्ख्या तीन हजार ७७५ रहेको छ । जसमध्ये सोही दिनसम्म गरी एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । अब दुई हजार ५०८ जनामात्रै सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ को कारण हालसम्म यो प्रदेशका सात जनाको ज्यान गएको छ । पाँच जनाको सुदूरपश्चिम प्रदेशमै र दुई जनाको अन्य प्रदेशमा ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

जिल्लागत सङ्क्रमित
सुदूरपश्चिमको कैलालीमा सबैभन्दा बढी ९९४ जनालाई कोराना सङ्क्रमण भएको छ । गौरीफन्टा नाका भएर भारतबाट फर्किनेहरू सबैभन्दा पहिले कैलालीमा प्रवेश गरेका थिए ।

यसैगरी, अछामका ५९२, डोटीका ५३५, बाजुराका ४५६ कञ्चनपुरका ४४३, बैतडीका २९३ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यस्तै, डडेल्धुरामा २६९, बझाङमा १५९ र दार्चुलामा १९ जनालाई कोरोना सङ्क्रमण भएको जनाइएको छ । सक्रिय सङ्क्रमितमध्ये ८० जना विभिन्न जिल्लाको अस्पतालमा र बाँकी स्थानीय तहको आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, प्रदेशभरि गरेर क्वारेन्टाइनमा चार हजार ८३४ जना रहेका छन् ।

हालसम्म परीक्षण

प्रदेशमा कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी दुवै विधिबाट गरी हालसम्म एक लाख ४३ हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
जसमध्ये, पीसीआर विधिबाट परीक्षणका लागि २६ हजार ५३७ स्वाब नमूना सङ्कलन गरिएकोमा हालसम्म २५ हजार ६८० नमूना परीक्षण भइसकेको छ । अझै ८५७ नमूनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, आरडीटी विधिबाट एक लाख १७ हजार ६५३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये एक जनाबाहेक बाँकी सबै व्यक्तिको ‘ट्राभल हिस्ट्री’ बाहिरबाट आएको रहेको छ । जसमध्ये भारतबाट फर्केर आएका सबैभन्दा बढी रहेका छन् । ‘यो प्रदेशमा धनगढी एक महिलालाई सरेको बाहेक कोरोना समुदायमा सरेको छैन’, अवस्थीले भन्नुभयो । ‘सङ्क्रमित सबै बाहिरबाट आएका थिए ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?