logo
२०८१ मंसिर १३ बिहीवार



डुबानमा परेका गोबरगाढाका ७५ परिवारको उद्धार

प्रदेश |


डुबानमा परेका गोबरगाढाका ७५ परिवारको उद्धार


धीरेन्द्रप्रसाद साह
राजविराज, असार २८ गते । सप्तरीको टापु भनेर चिनिने गोबरगाढा बस्तीमा सप्तकोसी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका छन् । बस्तीमा करिब तीन फिटसम्म बाढी पसेपछि प्रहरीको सहयोगमा ती परिवारलाई उद्धार गरी उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा राखेको बताइएको छ । 

लगातार तीन दिनदेखि परेको अविरल वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै हनुमाननगर कङ्कालिनी नगरपालिका-१३, गोबरगाढाका ७५ परिवारलाई डुङ्गामा राखेर सुरक्षित स्थानमा राखिएको वडा अध्यक्ष विन्देश्वर यादवले जानकारी दिनुभयो ।

सप्तकोसी नदीको मध्यभागमा अवस्थित गोबरगाढामा पुग्ने मार्गहरू डुबानमा परेपछि डुङ्गामा राखेर उनीहरूलाई सुरक्षित स्थानमा उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । सप्तकोसीमा निरन्तर पानीको बहाव बढ्दैगएकाले मानवीय क्षति हुन नदिन राहत तथा उद्धार कार्यका लागि त्यसतर्फ ठूलो सङ्ख्यामा आवश्यक सामाग्रीसहित सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

यस्तै, लगातार वर्षाले राजविराज नगरपालिकाका विभिन्न वडाहरू जलमग्न भएको छ । नगरको खैरसाल टोल, सरस्वती टोल, पडरिया, बिरौल, मलेठ, जगदरी लगायत दर्जनभन्दा बढी टोल बस्तीहरू जलमग्न भएको छ । त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाको कोइलाडी, बर्साइन, सकरपुरा, तिलाठी, लौनिया लगायतको टोल जलमग्न भएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।

निरन्तरको वर्षाले हनुमाननगर ङ्कंकालीनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका लगायतका स्थानका पाँच सयभन्दा बढी विगाह जग्गामा लगाइएको धान खेती बगरमा परिणत भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?