logo
२०८१ बैशाख २५ मंगलवार



मोरङको चिसाङ र बक्राहा खोलामा बाढी, आठ परिवार विस्थापित

प्रदेश |


मोरङको चिसाङ र बक्राहा खोलामा बाढी, आठ परिवार विस्थापित


हरि कोइराला
उर्लाबारी, असार २८ गते । मोरङको चिसाङ र बक्राहा खोलामा आएको बाढीले आठ परिवार विस्थापित भएका छन् । सयौंँ बिगाहा जमिन कटान भएको छ । लगातारको वर्षापछि चिसाङ खोलामा आएको बाढीले कानेपोखरी, दुखीटोलका आठ परिवार विस्थापित भएका छन् ।

स्थानीय टेकबहादुर मगरका अनुसार सबिता दनुवार, सोममाया दनुवार, दिलबहादुर दनुवार, विष्णु माझी, उदयबहादुर माझी, लखन चौधरी, डम्बरबहादुर माझी र मोहन तिम्सिनाको परिवार विस्थापित भएको हो । विस्थापित परिवारलाई उद्दार गरी स्थानीय श्री मावि भौँसावारीमा राखिएको छ । मध्यरात चिसाङ खोलोले धार परिर्वतन गरी पूर्व हानिएपछि सो क्षेत्रका किसानको सयौँ विगाहा जमिन कटान भएको छ । मोहन तिम्सिनाले भन्नुभयो, 'लहलह भइसकेको धानखेत हेर्दाहेर्दै बगरमा परिणत भयो ।'

खोलामा पानी नघटेकोले क्षति अझ बढी हुने स्थानीयको भनाइ छ । कानेपोखरी–५, दुखीटोलसँग बेलबारी –८ लाई जोड्नका लागि बनिरहेको झोलुङ्गेपुलको पूर्वपट्टिको पिल्लर चिसाङ खोलाको मध्यभागमा परेको छ । खोलो ३० मिटरभन्दा बढी पूर्व हानिएको स्थानीय मोहन कट्वालले बताउनुभयो । यही क्रम रहे ठूलो क्षति हुने उहाँले बताउनुभयो । चिसाङ खोलाले पूर्वपश्चिम राजमार्गको चिसाङ पलबाट उत्तरपश्चिमतर्फ झण्डै ५० बिगाहाभन्दा बढी जङ्गल क्षेत्र कटान गरिसकेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरले भन्नुभयो,  'खोला किनारमा धेरै सालका रुख खोलाले कटान गर्दा लडेका छन् ।' कर्मचारीहरू फिल्डमा नै भएकोले यकिन तथ्याङ्क प्राप्त भइनसकेको ठाकुरले बताउनुभयो । चिसाङ खोला किनारमा बस्ने स्थानीयले भने एक सय बढी रुख र छ सय मिटर क्षेत्रमा सय बिगाहाभन्दा बढी जङ्गल क्षेत्र कटान भइसकेको छ ।

उता बक्राहा खोलाले २२ वर्षपछि धार बदलेर पश्चिमतर्फ लाग्दा उर्लाबारी–३ का किसानको १२ बिगाहा जमिन कटान भएको छ । बक्राहामा पानीको सतह घटे पनि कटान नरोकिएको ३ नं. वडाका अध्यक्ष गञ्जबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार पूर्वपश्चिम राजमार्गभन्दा चार सय मिटर उत्तरदेखि खोलो पश्चिम हानिएको हो । खोलाले उर्लाबारी–३ का योगेन्द्र खड्काको दुई विगाहा जग्गा बगरमा परिणत गराइदिएको छ । खड्का लगायत खोला किनारमा खेती रहेका १७ परिवारको जग्गामा लगाएको धानबाली नष्ट भएको छ ।

उता लेटाङ –८ मा तेली खोलाले तटबन्ध भत्काएर पानी धानखेतीतर्फ पस्न थालेको छ । 'मानवीय क्षति हुन नदिन तत्काल वडा नं ८ ले खोलालाई च्यानलाइज गर्न थालेको छ', ८ नं. वडाका वडाध्यक्ष भीम पोख्रेलले भन्नुभयो, 'आपतकालीन रोकथाम गरेका छाैँ । पानी घटेपछि थप काम गर्ने छौँ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?