स्मीता अधिकारी
पोखरा, असार ३० गते । पोखरा-२६, बुढीबजारनजिकैको पैते गाउँ सुनसान छ । करिब दुई दशक अघिदेखि बसेको मानवबस्तीकाे दिनचर्या र चहलपहल गत बिहीबारको दिन टुङ्गिएको छ । रातभरको वर्षापछि आएको पहिरोले त्यस गाउँमा छरिएर रहेका ४० घर परिवारको बास उठेको छ । ती घरका करिब २०० जाना अहिले गाउँकै बेंसीमा रहेको स्थानीय अमरज्योति आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् । बन्दाबन्दीका करण लामो समयदेखि बन्द अवस्थामा रहेको उक्त विद्यालयमा भएका छ वटा कोठा तिनै विस्थापितले खचाखच छन् अहिले । विद्यालयको खेलकुद मैदानमा पाल टाँगिएको र दैनिक २०० जनालाई भातभान्छाको अस्थायी जोहो गरिएको छ ।
बिहीबार बिहानको घटनाले अहिलेसम्म झस्काइरहेको छ उनीहरूलाई । बिहीबार बिहान ५.०० बजेको आसपासमा पहिरो गएको भेउ पाउनेबित्तिकै त्यहाँका सबै मानिस एकैपटक हारगुहार गर्दै बेँसीतिर झरेका थिए । भिरालो गाउँ, ढुङ्गारहित रातो माटो । “यस्तो कम्जोर जग्गा छ भन्ने कहिल्यै सोचिएन” तीन कोठे आफ्नो घर गाउँको फेदीमा रहेको मोटरबाटोबाट मास्तिर देखिएको आफ्नो तीन कोठे घर चिहाउँदै विस्थापित मध्यकै एक लक्ष्मी परियारले भन्नुभयो । पन्ध्र वर्षअघि १५ लाख तिरेर घर उक्त घर किनेको स्मरण गर्नुभयो उहाँले ।
माटोको छर्राले छाना र झ्याल ढोकामामा हानेको आवाज सुन्नेबित्तिकै हत्तपत्त निन्द्राबाट बिउँझिनुभएको थियो, उहाँ । साथमै निदाइरहेको १० वर्षीय छोरा बोकेर बाहिर निस्कनुभयो । “मास्तिरबाट धेरै मानिस तलतिरै दगुर्दै थिए, म पनि हत्तपत्त तल बाटातिरै दगुरिहालेँ ।” पहिरो आएको दिनको घटना सम्झँदै उहाँले भन्नुभयो ।
पहिरोपछि गाउँ छोडेर हिँडेका मानिसहरू धेरै जसो दिउँसो घाम लागेको मौका पारेर अहिलेसम्म घरभित्रका सामान ओसारपसार गरिरहेका छन् । तर कहाँ गएर स्थायीरुपमा बस्ने जाने भन्ने चाहिँ टुङ्गो छैन, तर वर्षा सकिएपछि पनि त्यही गाउँमा घर फर्किन उनीहरू तयार छैनन् । “केही दिन वडाले व्यवस्था गरेको ठाउँमा बस्छौँ, त्यसपछि कोठा भाडा खोज्ने हो कि के गर्ने हो सोच्दै गराैँला” घर भित्रबाट बिस्ताराको पोको र केही भान्छाका सामान झिक्दै ५५ वर्षीय डम्बरबहादुर नेपालीले भन्नुभयो ।
गाउँमा पहिरोले घर नलगे पनि सबै घर चर्किएका छन् र धेरै जसो घरमा माटो ढुङ्गा पसिसकेका छन् । अब एक दुई पटक पहिरो गयो, भने यो घर पक्कै जान्छ, परियारले अनुमान लगाउनुभयो ।
उक्त पहिरोमा परेर त्यहीँका ३२ वर्षीय विवेक परियारको मृत्युसमेत भइसकेको हो । अझै केही दिन वर्षाको खतरा रहने मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले पनि उनीहरूमध्ये धेरै जना घरम बचेखुचेको सामान लिनसमेत फर्केर त्यो ठाउँ जान सकेका छैनन् । “आफ्नो ज्यान भन्दा ठूलो सामान हैन” त्यहीँकी अर्की बासिन्दा ५२ वर्षीय पूर्णमाया परियारले नागरिकतासमेत लिन जान आफू त्यो घरमा जान नसकेको जनाउँदै भन्नुभयो ।
पहिरोलगत्तै मानिसहरू गाउँ छोडेर हिँडेपछि वडा नं २६ कार्यालयले उहाँहरूलाई स्थानीय विद्यालयमा राखेको हो । बस्ने व्यवस्थामा विद्यालयले सहयोग गरिदियो, हामीले दैनिक खाना खुवाइरहेका छौँ, वडा अध्यक्ष नारायणप्रसाद बरालले भन्नुभयो । उनीहरूको लागि राहत तथा स्थायी बसोबासका लागि भने महानगपालिका, जिल्ला प्रशासन लगायतका निकायसँगको छलफलपछि थप निर्णय हुने वडाध्यक्ष बरालले बताउनुभयो ।