गाेरखापत्र अनलाइन
उदयपुर, साउन १ गते । त्रियुगा नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७७/०७८ सुरुवातीसँगै त्रियुगा हरित पार्क निर्माणको सुरुवात आजबाट भएको छ । हरित महिना साउन १ को अवसर पारेर नगरपालिकाले सिङ्गो नगरपालिकालाई नै हरित पार्ने अभियान सुरुवातको रुपमा वृक्षारोपण कार्यक्रम सुरु गरेको हो ।
बिहीबार त्रिनपा १२ त्रिवेणीटोल, विसनपुरबाट सुरु भएको वृक्षारोपणलाई पालिकाको १६ वटै वडामा विस्तार गर्दैछ । साेह्र वटै वडामा एकहजारका दरले बिरुवा वितरण गरिने नगरपालिकाले जनाएको छ । साथै भोलिदेखि एक हप्तासम्म हरेक वडामा वृक्षारोपणको कार्यक्रम अगाडि सारिने जनाइएको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराज–सप्तरी, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति आयोजना कार्यान्वयन इकाई सलकपुर–मोरङको सहयोगमा पालिकाले बृहत् वृक्षारोपण थालेको हो । अभियान अन्तर्गत २५ हजार बिरुवा रापिने छन् । २५ हजार बिरुवाले त्रियुगा हरितपार्कको रुपमा हराभरा हुने लक्ष्य छ । त्रियुगा नगरभित्रका सडक किनार, चोक, पार्क आदि सबैलाई बिरुवा, फुलहरूले हराभरा बनाउने लक्ष्य छ ।
प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरू, वन तथा प्राविधिक कार्यालयका प्रमुख, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघ लगायतका क्षेत्रबाट उल्लेख्य सहभागिता रहेको बृहत वृक्षारोपण उद्घाटन समारोहमा मेयर बलदेव चौधरीले हरित अभियानलाई सफलरुपमा पुरा गर्ने बताउनुभयो । वृक्षारोपणले प्राकृतिक हराभरा बनाई मानवीय जीवनको हरेक पक्षसँग महत्वपूर्ण अर्थ राख्ने भन्दै विशेष गरी स्वस्थ, शिक्षित, स्वच्छ र हराभरा नगर निर्माणमा मद्दत गर्ने बताउनुभयो । उपमेयर देवीकुमारी चौधरीले अभियानमा सहभागिता र सहयोगका लागि सबैलाई आह्वान गर्नुभयो ।
बिरुवा रोपेर वृक्षारोपणको सुरुवात गरिएको छ । मेयर, उपमेयर, प्रजिअ, सुरक्षा प्रमुखहरू, राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवाहरूले वृक्षारोपण गरेका छन् । यो सुरुवातीसंगै अव हरेक वडाहरूमा वडाध्यक्षहरूको अगुवाईमा हरित वडा बनाउन वृक्षारोपणले निरन्तरता पाउने नगरपालिकाका योजना अधिकृत दिनेशकुमार शिवाकोटीले बताउनुभयो । वृक्षारोपणका लागि मलेसियन सालको बिरुवा रोजिएको छ । काठ प्रायोजनसमेतका लागि उपयुक्त हुने मलेसियन साल नदी कटान रोक्न तथा पार्क सजाउनका लागि रोजिएको नगरपालिकाले जनाएको छ ।
हजारौंको संख्यामा गरिने वृक्षारोपणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विशेष सहयोग रहने र प्राविधिक सहयोगमा वन कार्यालयको रहने बताइएको छ ।