लुम्बिनी समाचारदाता
बुटवल, साउन २ गते । दुई दशकदेखि बुटवलमा विभिन्न राजनीतिक दलका नेताको आश्वासन र चुनावी नारा बनिरहेको अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक पशु वधशाला निर्माणले मूर्त रूप पाउने भएको छ । सो निर्माण कार्यको सम्झौताअनुसार काम भयो भने आगामी १६ महिनाभित्रै यसको निर्माण सम्पन्न हुनेछ ।
बुधबार एक समारोहबीच प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वधशालाको शिलान्यास गर्नुभयो । बुटवल उपमहानगर पालिका–१०, रामनगरमा यसअघि नै केही संरचना निर्माण भए पनि सञ्चालनमा आउन नसकेको वधशालालाई अब अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँंले समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताउनुभयो ।
अत्याधुनिक संरचनासहित यो तीन बिघा क्षेत्रफलमा निर्माण हुनेछ । यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक वधशाला सञ्चालन हुन नसक्ने भन्दै उपमहानगरपालिकाले उच्च स्तरको प्राविधिक अध्ययन गराएको थियो ।
वधशाला २२ करोड १३ लाख ३५ हजार ९९६ को लागतमा निर्माण गर्न ठेक्का सम्झौता भएको छ । सम्झौतामा निर्माण सुरु भएको १६ महिनामा निर्माण सक्ने प्रावधान छ ।
वधशालाको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले बुटवल उपमहानगरले किसान, व्यवसायी, सहकारीसमेतलाई साझेदारीमा लिएर काम सुरु गरेकाले वधशाला निर्माणलाई प्रदेश सरकारले आवधिक योजनामा समावेश गरेको बताउनुभयो ।
पशुपालन र मासुजन्य व्यवसाय एउटा महŒवपूर्ण उद्योगका रूपमा रहेकाले वधशालाले व्यवस्थित बजारीकरणको भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश ५ का पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, उपमहानगरका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यलगायतले वधशाला निर्माण बुटवलका लागि नयाँ आयाम हुने बताउनुभयो ।
प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा वधशाला निर्माण हुन लागेको हो । निर्माण कम्पनी श्री शिवशक्ति कन्स्ट्रक्सन प्रालिका प्रभाकर लामिछानेले तोकेको अवधिभन्दा अगावै निर्माण सक्नेगरी काम गरिने दाबी गर्नुभयो ।
वधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सात करोड, बुटवल उपमहानगरपालिकाको तीन करोड गरी आव २०७६÷७७ मा कुल १० करोड बजेट विनियोजन भइसकेको छ । क्रमागत रूपमा बहुवर्र्षीय योजनाका रूपमा परियोजना सञ्चालन गरिने बुटवल उपमहानगरका प्रमुख सुवेदीको भनाइ छ ।
सम्झौतामा उल्लेख भएअनुसार वधशालामा दैनिक एक हजार खसी, बोका वध गर्न मिल्नेछ । यहाँ बाख्राको चरन, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच, उपचार कक्ष, प्राथिमक उपचार र सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माणलगायतका संरचना निर्माण हुने छन् ।