सन्तोष सुवेदी
सिरहा, साउन ३ गते । कोरोना महामारीका कारण लहानदेखि १५ किलोमिटर उत्तरमा पर्ने काभ्रे कपिलेश्वर महादेवस्थानमा साउनमा लाग्ने पूजाआजा र मेला यसपालि बन्द गरिएको छ । लहान नगरपालिका–१६ तरेगनास्थित चुरेको वनक्षेत्रको काभ्रे डाँडामा अवस्थित काभ्रे कपिलेश्वर महादेवस्थानमा साउन महिनामा दैनिक हजारौंको संख्यामा भक्तजनहरु जल चढाउन जाने भएकाले यस स्थानमा साउनभरी बोलबम धार्मिक मेला लाग्दै आएको छ ।
मन्दिरमा बोलबम भक्तजनको भीडभाड हुने र यसबाट कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले काभ्रे कपिलेश्वरमा पुजाआजा र दर्शनमा समेत रोक लगाइएको लहान नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष गरुडबहादुर जर्घा मगरले जानकारी दिनुभएको हो ।
लहानको तरेगनामा पर्ने चुरे क्षेत्रबाट लहानदेखि उदयपुरको पुरानो बजार नेपालटार जाने सडक बनाउन १० वर्ष अगाडि चुरे उत्खनन गर्दा उक्त स्थानमा ओडारभित्र शिवलिड्ढ आकारको शिला देखिएपछि स्थानीयले उक्त शिलालाई काभ्रे कपिलेश्वर महादेवको नाम दिंदै पुजाआजा गर्दै आएका हुन् । ‘ओडारभित्र रहेको शिवलिड्ढको पुजा गर्न साउन महिनामा भक्तालुहरु आउन थालेको त निकै पहिल्यैदेखि नै हो’, वडा अध्यक्ष जर्घा मगरले भन्ुनभयो–पहिले गोरेटो बाटोमा हिड्दै भक्तालुहरु कपिलेश्वर महादेवकहाँ पुग्थे तर अहिले बाटो बनिसकेकोले भक्तालुहरु नजि सवारी साधन चढेरै आउने गरेका छन् ।
काभ्रे कपिलेश्वर मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन र यो स्थान हुँदै उदयपुरको नेपालटार बजारसम्म पुग्ने बाटो बनाउन डिभिजन सडक कार्यालय, लहानले यो बाटोमा ट्रयाक खोल्नुको साथै दुई वटा पुल समेत निर्माण गरेको छ ।
यसअघि पनि वैशाख चण्डी पूर्णिमाको एकै दिन हजारौं पशुवलि दिइने लहान नगरपालिका–१५ स्थित ढोढनाको राजदेवी मन्दिरमा लाग्ने मेला नचलाउन स्थानीय प्रशासनले आग्रह गरेपछि मेला आयोजक समितिले राजदेवीमा लाग्ने मेला बन्द गराएको थियो ।