logo
२०८१ मंसिर १३ बिहीवार



भरियो म्याग्दीको आइसोलेसन

प्रदेश |


भरियो म्याग्दीको आइसोलेसन


अमृतप्रसाद पौडेल

बेनी, साउन ४ गते । वैदेशिक रोजगारीबाट आएर हिमाली जिल्ला म्याग्दीको बेनीस्थित क्वारेन्टाइनमा बसेका छ जना पुरुषको पीसीआर परीक्षण रिपोर्टमा काेराेना भाइरस पोजिटिभ आएसँगै २० बेड क्षमताको बेनीको आइसोलेसन कक्ष भरिभराउ भएको छ । यसअघि ३४ जनामा सङ्क्रमण पुष्टि भएकोमा २० जना उपचारपछि घर फर्किसकेका थिए भने १४ जना उपचाररत थिए । आइतबार छ जनामा सङ्क्रमण पुष्टि भएपछि अब आइसोलेसन क्षमता अनुसारको बेडमा सङ्क्रमितहरू भरिएका छन् ।

भारत तथा कुवेतबाट आएर बेनी बसेका म्याग्दीको बेनी नगरपालिका–१, का ३२ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका–६, घारका ३१ वर्षीय पुरुष, मालिका गाउँपालिका–१ का २८ र २ का ३४ वर्षीय पुरुष एवम् मङ्गला गाउँपालिका–५ का २८ र ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पोजिटिभ पाइएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

हालसम्म म्याग्दी जिल्लामा ३५ जना पुरुष र पाँच जना महिलामा सङ्क्रमण पुष्टि भएको र १५ पुरुष र पाँच महिला उपचारपछि घर फर्किसकेको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले बताउनुभयो । स्वाब सङ्कलन गरी पठाइएकामध्ये अझै ५६ जनाको नतिजा आउन बाँकी रहेकोसमेत लम्सालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?