logo
२०८१ मंसिर १३ बिहीवार



पहिरोकाे जोखिममा कपुरकोट

प्रदेश |


पहिरोकाे जोखिममा कपुरकोट


प्रतीक शर्मा

सल्यान, साउन ४ गते । कपुरकोट बजार पहिरोको जोखिममा परेको छ । खारा पहिरोको कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार, राप्ती लोकमार्ग बर्सेनि भासिँदैगएको छ ।
प्रत्येक वर्ष सडकसहित बजार रहेको जमिन भासिँदै गएको छ । अन्य समयभन्दा बर्साद्को समयमा जमिन धेरै भासिने गरेको छ । पहिरोका कारण कपुरकोट बजारका करिब एक सय घरधुरी अति जोखिमा रहेका छन् ।

कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले रोकथामका लागि धेरै प्रयास गरिए पनि पहिरो जाने क्रम नरोकिएको बताउनुभयो । उहाँका अनुसार खारा पहिरो बर्साद्मा मात्र नभई सुक्खा समयमा समेत जाने भएकाले जोखिम सधैँ रहेको छ ।

कपुरकोट-३ का केशव शर्माले दिन प्रतिदिन जमिन भासिँदै गएपछि स्थानीयवासी त्रसित भएको बताउनुभयो । उहाँका अनुसार पहिरोकै कारण बजारमा रहेको केही घरहरू वगेका छन् । सडक छेउमा रहेका घरहरू जमिनसँगै भासिएका छन् ।

कपुरकोट बीचबजारमा रहेको राप्ती राजमार्ग दुइ मिटर भासिँदा दुइ पक्की घरसहित दर्जन घुम्ती भत्किएका छन । कपुरकोट-३ का व्यापारी घनश्याम शर्माले बस्तीदेखि करिब ४० मिटर दूरीमा रहको खारा पहिरोबाट निरन्तर माटो बगिरहन थालेपछि थप जोखिम रहेको छ । पहिरोको लम्बाई ७०० मिटर चौडाई ३०० मिटर गहिराई ३० मिटर कुल क्षेत्रफल १६ हेक्टर रहेकोछ।

राप्ती राजमार्ग बग्ने खतरा

कपुरकोट बजारमा जमिन भासिँदै गए राप्ती लोकमार्ग पनि जोखिममा परेको छ । सडक पहिरोको जोखिम क्षेत्रमा रहेको छ । स्थानीय मधुसुदन गिरीले पहिरो रोक्न सकिएन भने राप्ती राजमार्ग नै अवरुद्ध हुने बताउनुभयो । उहाँका अनुसार यहाँ भएर सल्यान, रोल्पा रुकुम डोल्पासमेतको जनताहरू यस मार्ग भएर आवतजावत गर्ने भएकाले उक्त जनजीवन प्रभावित हुने तथा अरबौँको क्षति राज्यलाई हुने पक्का जस्तै छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले कपुरकोट खारा पहिरो रोकथामका लागि सङ्घ र प्रदेशले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको बजेटले पहिरो नियन्त्रण गर्न सक्ने अवस्था छैन । पहिरो बढ्दैगएमा सल्यान कपुरकोट बजारक्षेत्र, पाखापानी, राम्री र दाङ जिल्लाको तुल्सीपुर नगरपालिकाको रक्षाचौर, बसपार्क उरहरी र बैबा क्षेत्रकोबस्ती समेतलाई क्षति पु–याउन सक्ने छ ।

पहिरो रोक्न तीन करोड रकम खर्च

पहिरो नियन्त्रणको लागि तत्कालिन भू-संरक्षण कार्यालयले रोकथामका लागि प्रयास गरेको थियो । रोकथामका लागि धेरै प्रयास गरिए पनि पहिरो जाने क्रम नरोकिएको स्थानीयको भनाइ छ । पहिरो रोकथामका लागि हालसम्म तीन करोड ८० लाख रुपियाँभन्दा खर्च भएको छ ।

खारा पहिरो नियन्त्रण संरक्षण समितिका अध्यक्ष तिलकबहादुर सिंह ठकुरीले धेरै ठूलो पहिरो भएकाले धेरै लगानी गर्दा पनि नियन्त्रण गर्न नसकिएको बताउनुभयो । उहाका अनुसार २०५२ साल यता पहिरो नियन्त्रणका लागि स-साना प्रयास भएको भएपनि ठूलै योजना भने आएको छैन ।

डिभिजन वन कार्यालय सल्यानले यो वर्ष पहिरो नियन्त्रणका लागि पक्की चेक ड्याम निर्माण गरेको छ । खारा पहिरो नियन्त्रण लागि ५० लाख वरावर लगानीमा पक्की चेक ड्याम र अम्लीसो लगाइएको छ । डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले खारामा रहेको माटो नुनिलो भएकाले जाली छिट्टै गल्ले समस्याका कारण पहिरो रोक्न समस्या भएको बताउनुभयो । उहाका अनुसार पहिरो रोकथाममा लाग्नुभन्दा पनि अब राज्यले जोखिममा रहेको बस्तीलाई स्थानान्तरण गर्नुपर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?