logo
२०८१ मंसिर १३ बिहीवार



मर्चवार नहरले बस्ती डुबानमा

प्रदेश |


मर्चवार नहरले बस्ती डुबानमा
साकेंतिक तस्बिर


लक्ष्मण पौडेल

भैरहवा, साउन ६ गते । भारतीय पक्षले एकतर्फीरुपमा निर्माण गरेको नहरका कारण रुपन्देहीको दक्षिणी क्षेत्र डुबानमा परेको छ । भारत उत्तर प्रदेशका नौ जिल्लाको १२ लाख हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पु-याउन भारत सरकारले सरयु नहर परियोजनाअन्तर्गत अहिले धमाधम नहर निर्माण गरिरहेको छ । जसको उचाई २५ फिट र चौडाई सय मिटर छ ।

सन् १९७४ मा सुरु परियोजनाको काम अहिले रुपन्देहीको सीमावर्ती क्षेत्रसम्म आइपुगेको हो । कर्णाली अर्थात घाघरा नदीबाट सुरु यो नहर सरयु, राप्ती, वाणगङ्गा र रोहिणी नदीमा आएर जोडिनेछ । अन्य जिल्लामा दशगजा क्षेत्रभन्दा निकै टाढा नहर बनाइएको छ । तर रुपन्देहीमा यो दूरी पाँच सय मिटरनजिक पारिएको छ । जसले गदौ नेपाल हुँदै बग्ने खहरे खोला, नहर, नाला, कुलोको पानीको बहाव नै बन्द भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकामा दशगजाको एक सय मिटरनजिक भारतले अग्लो सडक बनाएका कारण नेपाली भूभाग डुबानमा पर्ने स्थानीय उमेश कुर्मीले बताउनुभयो ।

जमिनको सतहभन्दा नहरको पर्खाल १० फिट अग्लो भएकाले रुपन्देहीबाट बहने नदीको वेग रोकिँदा नेपालतर्फको भूभाग डुबानमा परेको हो । दशगजानजिक ठूलो पर्खालजस्तो नहर बनाउँदा मर्चवार पुरै डुबानमा पर्ने अवस्था आएको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले बताउनुभयो । “नहरका कारण वर्षायाममा नेपालतर्फबाट बहने दर्जन खहरे खोलाले मर्चवार पुरै डुब्ने अवस्था आएको छ”–उहाँले भन्नुभयो ।

नेपाल–भारत सीमाको करिब पाँच किलोमिटर क्षेत्र वरिपरि कुनै संरचना निर्माण गर्दा दुवै देशले एक अर्कालाई हानी नहुने गरी काम गर्नुपर्ने आपसी सहमतिविपरीत भारतीय पक्षले नहर निर्माण गरिरहेको हो । रुपन्देहीबाट ठूलो नदीसँगै थुप्रै खहरे खोला भारततर्फ बग्छन् । ठूलाको केही निकास भएपनि साना नदीको निकास छैन । अन्य जिल्लामा दशगजाभन्दा धेरै टाढाबाट नहर बनाइएको छ । तर रुपन्देहीमा दशगजा नजिकै बनाइएको छ । गाउँपालिका अध्यक्ष शुक्लाले डुबानको डरले यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको बताउनुभयो ।

पूर्वकृषि राज्यमन्त्रीसमेत रहनुभएका मर्चवारका नेता ओमप्रकाश यादव (गुल्जारी) ले सरकारले कूटनीतिक पहल गरेर तत्काल नहर निर्माण रोक्नुपर्ने बताउनुभयो । नहरले गर्दा मर्चवार क्षेत्रको खेतीयोग्य जमिन पूरै डुबानमा पर्ने र भविष्यमा भोकमरी आउने सक्ने खतरा रहेको उहाँले बताउनुभयो । मर्चवारलाई अन्नको भण्डार भनेर चिनिन्छ । मर्चवारमा आइतबारदेखि आएको वर्षाले करिब पाँच सय हेक्टर धानबाली डुबानमा परिसकेको छ । पानीको बहाव क्षेत्र खुला नगरे ठूलो वर्षा आउँदा हजारौँ हेक्टर खेतसँगै गाउँ नै डुबानमा पर्ने त्रासले यहाँका बासिन्दा चिन्तित छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतीय पक्षले नहर निर्माण गरिरहेको र मर्चवार क्षेत्र डुबानमा परेको बारे आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले तत्काल यस विषयमा बुझेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?