सिराज खान
नेपालगञ्ज, साउन ८ गते । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले शुरु गरेको अति जोखिम क्षेत्रमा काम गर्नेहरूको पीसीआर परीक्षणको क्रमलाई निरन्तरता दिँदै बिहीबार नेपालगञ्जको त्रिभुवन चोकमा भेला हुने श्रमिकहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट दैनिकजसो कामको खोजीमा त्रिभुवन चोकमा भेला हुने महिला पुरुष श्रमिकहरू अति जोखिममा पर्ने हुँदा उनीहरूको कोरोना परीक्षण गर्ने निर्णय गरिएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँले बिहीबार चोकमा भेला भएका १३० जना श्रमिकको स्वाब सङ्कलन गरिएको जानकारी गराउनुभयो । नेपालगञ्जमा जम्मा भइ विभिन्न ठाउँमा गएर दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूको परीक्षणका लागि सरकारले १२० दिन लामो बन्दाबन्दीलाई समाप्त गरेको घोषणा गरे लगत्तै स्वाब सङ्कलन गरिएको हो ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार त्रिभुवन चोकबाट २०० जनाको स्वाब सकलन गर्ने लक्ष्य राखिएकोमा धेरैजना श्रमिकहरू काम पाउने वित्तिकै त्यहाँबाट गइसकेकोले १३० जनाको मात्र स्वाब सङ्कलन गरिएको छ । बाँकेमा विगत केही समययता आएर सङ्क्रमितहरू फेला पर्ने क्रम घट्दैगएपछि उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरेर कोरोना परीक्षणलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले बताउनुभयो ।
सो क्रममा हालसम्म फ्रन्टलाइनमा काम गर्ने र अति जोखिममा रहेका पत्रकार, स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, औषधी व्यवसायी, बैंङ्कका कर्मचारी र कानुन व्यवसायीहरूको परीक्षण गरिसकिएको उहाँले बताउनुभयो ।
उनीहरूमध्ये अधिकांशको नतिजा नगेटिभ आएकोले समुदायमा कोराना नरहेको पुष्टि गरेको प्रमुख शाहले बताउनुभयो । स्थानीयको माग अनुसार अब सैलुनमा काम गर्ने, तरकारी मण्डीमा काम गर्ने र अन्य भिडभाडको क्षेत्रमा काम गर्नेहरूको पनि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच जिल्लाका ३० जना कानुन व्यवसायीको कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नगेटिभ आएको भेरी अस्पतालले जनाएको छ । श्रमिकहरूको स्वाब सङ्कलनमा नेपाल रेडक्रस सोसाइटी बाँके र कसौधन वैश्य समाज बाँकेले विशेष सहयोग गरेका थिए ।