सिराज खान
नेपालगञ्ज, साउन ८ गते । बाढी र डुबानमा परेकाहरूको उद्धारका लागि विश्व खाद्य कार्यक्रमद्वारा गृह मन्त्रालयमार्फत बाँकेमा पठाइएका तीन वटा मोटरबाेटको बिहीबार सफल परीक्षण गरिएको छ ।
राप्ती नदीमा बाढी आएको बेला सर्वसाधारणको उद्धार र राहतका लागि बाँकेका तीनवटै सुरक्षा निकायलाई एक/एक वटा पर्ने गरी पठाइएको तीनवटै मोटरबोटको नेपालगञ्जस्थित वाटरपार्कमा परीक्षण गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका प्रमुख गौरी बुढाथोकीले बताउनुभयो ।
नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई विपद्को बेला प्रयोग गर्नका लागि पठाइएका ती तीनवटै मोटरबाेटलाई वाटरपार्कमा चलाएर परीक्षण गरिएको र सो परीक्षण सफल भएको बुढाथोकीले बताउनुभयो ।
तीनवटै मोटरबाेटको सफल परीक्षणपछि अब तीन वटै सुरक्षा निकायले सम्भावित बाढी प्रभावित क्षेत्रमा पठाएर तयारी अवस्थामा राख्ने विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । विपद् व्यवस्थापन समिति बाँकेका सदस्य तथा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मोटरबाेटले बाढीको बेला राहत र उद्धारमा ठुलो सहयोग मिल्ने बताउँदै यसबाट उद्धार कार्य छिटो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मोटरबाेटलाई बाढी आउने आशङ्का भएका क्षेत्रको नजिकको प्रहरी युनिटमा पठाउन लागिएको पनि बताउनुभयो । परीक्षणमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीका जिल्ला प्रमुखहरू पनि सहभागी हुनुभएको थियो ।
यसअघि केही दिन पहिले सिधनियाघाटस्थित राप्ती नदीको छेउमा बाढीको उद्धार र राहातको कृत्रिम अभ्यास पनि गरिएको थियो । बाढी आउने आशङ्का भएका क्षेत्रहरूका बासिन्दालाई सेचत पार्नुका साथै उद्धार र राहतका सबै तयारी पूरा गरेर अलर्ट अवस्थामा बसेको विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।