जर्नादन खत्री
सर्लाही, साउन ८ गते । झरी परेको मौका छोपी तस्करहरुले सर्लाहीका वन क्षेत्रबाट काठ तस्करी गर्दै आएका पाइएको छ । घारी सव–डिभिजन वन कार्यालयबाट खटिएको वन गस्ती टोलीले झरी परिरहेको रातको समयमा तस्करी हुँदै गरेको सालका १९.७३ क्यूफिट पाँच थान गोलिया बरामद गरेपछि काठ तस्करीको रहस्य खुलेको हो । सागरनाथ चौकदेखि पूर्व फूलजोर बाबा साझेदारी वनबाट साइकलमा हालेर ल्याउँदै गरेको अवस्थामा काठ बरामद गरिएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजनल प्रमुख माधव देवले जानकारी दिनुभयो ।
तस्करीमा संलग्न व्यक्तिहरु भने वन कर्मचारीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका छन् । घटनास्थलबाट काठ तस्करीमा प्रयोग भएका नौँ थान साइकल बरामद भएको देवले बताउनुभयो । झरी पर्ने र हुस्सु लाग्ने याममा काठ तस्करी बढ्ने गरेको छ । जिल्लामा सागरनाथ वन विकास परियोजनाका वन क्षेत्र, फूलजोर बाबा साझेदारी वन, मूर्तिया र जानकीनगर क्षेत्रका वनमा धेरै तस्करी र अतिक्रमण हुने गरेको छ ।
डिभिजन वन प्रमुख देवले कोरोना कहरकैबीच जारी लकडाउन, झरी परिरहेको अहिलेको समय जस्ता जटिल परिस्थितिमा पनि उपलब्ध सीमित स्रोत साधन र जनशक्ति परिचालन गरी वन जङ्गलको संरक्षण गर्न गस्ती गरिरहेको दावी गर्नुभयो ।