चित्र मिजार
सिनधुपाल्चोक, साउन ९ गते । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गतका विभिन्न सडकखण्ड भासिने र पहिरो जाने क्रम चल्न थालेको छ । बर्सेनि उक्त सडकखण्डलाई सुनकोशी नदीले तान्दैआएको छ भने माथिबाट आएको पहिरोले सडक दिनहुँ अवरुद्ध हुदैँआएको छ ।
केही दिनअघिको अविरल वर्षाका कारण राजधानी जोड्ने कोठे-बलेफी खण्डको कोठेभीरमा दुई सय मिटर लम्बाइको सडक भासिएको छ । उक्त भीरमा वर्षाैँदेखि एकतर्फी मात्रै ट्रयाक रहेको थियो । सोही भीरमा नदीले सडक तानेपछि सडक अवरुद्ध हुँदैआएको छ । बाह्रबिसेनजिक महभीर भीरमा नदीले सडक तानेको छ । सो खण्डमा दैनिक रुपमा सडक भासिन थालेको छ । त्यस्तै, जुरे पहिरोमा पनि सडकलाई सुनकोशी नदीले तानेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ ।
सुकुटेदेखि चेहेरेसम्मको खण्डमा माथिबाट पहिरो आएर सडक अवरुद्ध हुँदैआएको छ । राजमार्गबाट गाउँ जोड्ने ग्रामीण सडक खनेका कारण उक्त सडकबाट पहिरो आउन थालेको छ । ग्रामीण सडक बग्न थालेपछि राजमार्गमा माटोको लेदो र पहिरो थुप्रिन थालेका छन् । दिनहुँ पहिरो आउँदा सडक अवरुद्ध हुँदैआएका कारण यातयातका साधान रोकिँदैआएका छन् ।
सडकमाथिबाट पहिरो र लेदो आउँदा सवारी साधान पुरिने खतरा बढेको छ । राजमार्गमा जोगिएरै गाडी चलाउन मुस्किल भएको चालक रामबहादुर तामाङले दुखेसो गर्नुभयो । भासिएको सडकमा गाडी नदीमा झर्ला भन्ने एकातिर डर छ भने अर्कोतिर माथिबाट लेदो, ढुङ्गा र पहिरो आएर पुर्ला भन्ने डर भएको चालक तामाङले पीडा व्यक्त गर्नुभयो ।
स्थानीय सरकारले विकासको नाममा जथाभावी सडक खनेका कारण पनि माथिबाट पहिरो आउने थालेको सामाजिक व्यक्तित्त्व भूपेन्द्रविक्रम थापाले जानकारी दिनुभयो । सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसिनरी वाल, प्लम्ब ढलान, जाली गारोजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक तान्ने र भासिँदै जाने पनि उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालय, चरिकोटका प्रमुख विजयकुमार महत्तोले नदीमा बाढी आएपछि सडक तान्ने र भासिने बताउनुभयो । माथिबाट पहिरो र माटोको लेदो र ढुङ्गा आउँदा सडक अवरुद्ध हुँदैआएको पनि स्वीकार्नुभएको छ । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दैआएको पनि डिभिजन प्रमुख महत्तोले जानकारी दिनुभएको छ ।