भवानी ऐर
गोदावरी (कैलाली), साउन ९ गते । चार हजार १७७ कोरोना सङ्क्रमित भएको सुदूरपश्चिममा कोरोना उपचार तथा व्यवस्थापनका लागि स्थापना गरिएको धनगढीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्ड खाली छन् । लक्षण नदेखिएको भन्दै अस्पताल पुगेका कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्दै घर पठाएपछि विगत तीन दिनदेखि अस्पतालको आइसोलेसन वार्ड खाली रहेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार १९ सयभन्दा बढी सुदूरपश्चिममा सकृय सङ्क्रमित रहेका छन् । तर, साउन ६ गतेदेखि कोहीपनि सङ्क्रमित नआएपछि आइसोलेसन खाली रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–‘सेती प्रादेशीक अस्पतालद्वारा सञ्चालित कोरोना अस्थायी अस्पतालको आइसोलेसन तीन दिनदेखि खाली छ ।’
हालसम्म सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित ८० जनाको उपचार भएर डिस्चार्ज भएको जानकारी दिँदै श्रेष्ठले सङ्क्रमित र शङ्कास्पद गरी १८३ जना सेती अस्पतालको आइसोलेसन भर्ना भएको बताउनुभयो । गत जेठ ३१ गते सेती अस्पतालले आइसाेलेसनमा सबैभन्दा बढी ३५ जना सङ्क्रमित राखिएको जानकारी गराउँदै सूचना अधिकारी श्रेष्ठले अहिले आइसोलेसन पुरै खाली रहेको बताउनुभयो ।
स्थानीय तहहरूले समेत आइसोलेसन निर्माण गरेका कारण कोरोना सङ्क्रमित तर, लक्षण नदेखिएकाहरू सोही आइसोलेसन र होम क्वारेन्टाइनमा बस्ने गरेको उहाँले बताउनुभयो । त्यस्तै धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा समेत अहिले सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । उप–महानगरपालिका–८ का अध्यक्ष तथा कोभिड–१९ फोकल पर्सन नारायण बरालले उपमहानगरपालिकाको आइसोलेसनमा हाल १४ जना मात्रै सङ्क्रमित रहेको बताउनुभयो ।
सुदूरपश्चिमका चार हजार १७७ कोरोना सङ्क्रमितमध्ये दुई हजार २३३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।