ध्यान कुलुङ
सङ्खुवासभा, साउन ९ गते । गत असार २७ गते राति सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा गएको पहिरोमा बेपत्ता भएका नभेटिएपछि उद्धारमा खटिएका सुरक्षाकर्मीहरू फर्किएका छन् । एक हप्तासम्म खोज्दा पनि बेपत्ता भएका ११ जनालाई नभेटिएपछि विभिन्न स्थानबाट खटिएका सुरक्षाकर्मीहरू फर्किएका हुन् ।
पहिरोले भत्काएको घर र पुरिएका स्थानहरूमा उत्खनन गरेर खोज्दा पनि बेपत्ता नभेटिएपछि भेटिने अपेक्षा अति न्यून भएको भन्दै सुरक्षिाकर्मीहरू घटनास्थलबाट फर्केका हुन् । पहिरोले भत्काएर पुरिएको दुई वटा घर, अन्य सम्भावित क्षेत्रहरू र पहिरोको सबै किनार क्षेत्रमा खोजी गर्दा पनि नभेटिएपछि टाढाबाट आएको उद्धार टोलीहरू फर्किएको उद्धार टोलीमा खटिनुभएका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । ‘सम्भावित ठाउँहरूमा निरन्तर खोज्दा पनि भेटिएन, अब भेटिने सम्भावना कम देखिएकोले हामी फर्केका हौँ’, प्रहरी निरीक्षक राईले भन्नुभयो ।
टाढाबाट उद्धारमा आएकाहरू फर्किए पनि सिसुवाटार प्रहरी चौकी र ताम्कु प्रहरी चौकीका प्रहरीहरू भने घटनास्थलमा नै रहेको उहाँले जानकारी दिनुभयो । कतै भेटिएला कि भनेर उनीहरू त्यस क्षेत्रमा नै खटिएको समेत प्रहरी निरिक्षक राईले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको उद्धारको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेका थिए ।
उनीहरूको उद्धारको लागि भोजपुरबाट समेत नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए । घटनास्थल र पुर्नस्थापना गरिएको क्षेत्रमा गरी ७० जना सुरक्षाकर्मीहरू खटिएका थिए ।
बेपत्ता भएकाहरू जीवित भेटिने सम्भावना न्यून भएपछि बेपत्ताका परिवारहरूले काजकर्म गर्न सुरु गरेका छन् । कुलुङ जातिको परम्परा अनुसार सुध्याईको काम सुरु गरिएको परिवारका सदस्य गुमाउनुभएको स्थानीय जुद्धबहादुर कुलुङले जानकारी दिनुभयो । गाउँमै धामी राखेर चोखिने काम सुरु गरिएको कुलुङले बताउनुभयो । ‘हाम्रा मान्छेहरू अब नभेटिने नै होला, उनीहरूको आत्मालाई बाटो लगाउनै पर्ने भएकोले अन्तिम कर्म सुरु गर्न लागेका हौँ’, कुलुङले भन्नुभयो ।
पहिरोमा परेर राममान कुलुङ, हस्तीकुमारी कुलुङ, नम्रता कुलुङ, एञ्जिला कुलुङ, विनिला कुलुङ, गोरीमाया कुलुङ, उत्तरकुमारी कुलुङ, जुद्धबहादुर कुलुङ, धनशङ्कर कुलुङ, आईतजिन कुलुङ र नजमाया कुलुङ बेपत्ता भएका हुन् । उक्त पहिरोले नाै घर बगाउँदा घरमा बसेका उनीहरूलाई समेत बगाएर बेपत्ता बनाएको हो । बेपत्ताहरूको खोजी गर्ने क्रममा वर्ष ३७ का मदन कुलुङको पनि मृत्यु भएको थियो । श्वासप्रश्वासको समस्या रहेको कुलुङ पहिरो क्षेत्रमा हिँडिरहेकै बेला एक्कासि ढल्नुभएको थियो ।