logo
२०८१ बैशाख १८ मंगलवार



परेवाभीरबाटै सडक बनाउन जनप्रतिनिधि एकमत

प्रदेश |


परेवाभीरबाटै सडक बनाउन जनप्रतिनिधि एकमत


शिवकुमार काशी

हेटौँडा, साउन १० गते । धादिङ जिल्लाको आदमघाटबाट मकवानपुरको मनहरी जोड्ने सडकखण्डमा पर्ने परेवाभीरबाटै सडक बनाउन मकवानपुरको पश्चिम क्षेत्रका जनप्रतिनिधि एकजुट भएका छन् ।
कुल ५२ किलोमिटर सडक खण्डमध्ये पर्ने परेवाभीर क्षेत्रमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाटो बनाउन नसकिने बरु विकल्प खोजिने बताएलगत्तै जनप्रतिनिधिले मुख्यमन्त्रीको भनाइको खण्डन गर्दै बाटो निर्माण गर्ने तयारी गरेका हुन् । राक्सिराङ गाउँपालिका–४ मा पर्ने परेवाभीर क्षेत्रमा हरेक वर्ष पैदल यात्राका क्रममा मानिसहरू लडेर र खोलाले बगाएर मर्ने गरेकोमा यतिखेर बाग्मती प्रदेशको संसद्देखि मिडियासम्म परेवाभीरकै चर्चा चलिरहेको छ ।
मङ्गलबार बाग्मती प्रदेशभित्रका ३२ वटा पुलको हेटौँडास्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमै बसेर उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले परेवाभीरको विकल्प खोजिने बताएपछि बाग्मती प्रदेश सभामा प्रतिनिधित्व गर्ने पश्चिम मकवानपुरका प्रदेश सभाका सदस्यद्वय ओमबहादुर ग्लान र सन्तबहादुर चेपाङ तथा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिकाका
अध्यक्ष टङ्कबहादुर मुक्तानले आपत्ति जनाउनुभएको हो ।
परेवाभीर क्षेत्रमा रहेको चार सय मिटर खण्डको समेत गरी राक्सिराङ गाउँपालिकाले ९ दशमलव ५ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अघि बढाएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँले मुख्यमन्त्रीसामु परेवाभीरका सन्दर्भमा कसैले गलत रिपोर्टिङ गरिदिएकाले मुख्यमन्त्रीको बोली फेरिएको बताउनुभयो । अध्यक्ष मल्लले आठ मिटर उचाइका सेरवाल उठाएर परेवाभीरको पहरालाई दख्खल नपर्ने गरी बाटो बनाउन प्राविधिकले अध्ययन गरिसकेका छन् । अहिले आएर त्यो बाटो बन्दै गर्ने भनेर मुख्यमन्त्रीले यस क्षेत्रका जनताको आशामाथि कुठाराघात गर्नुभयो भन्नुभयो ।
मल्लका अनुसार परेवाभीर क्षेत्रमा चार करोड रुपियाँ खर्च गर्नेबित्तिकै हिउँद÷वर्षायामभर सवारी सञ्चालन गर्न सक्ने गरी प्राविधिक अध्ययन भएको छ । चालू आर्थिक वर्षमै दुई करोड रुपियाँ विनियोजन गरी गाउँपालिकाले प्राविधिक अध्ययनबमोजिम सडक बनाउने कार्य सुरु गर्ने र बहुवर्षीय ठेक्का लगाइने मल्लले बताउनुभयो । प्रदेश सभा सदस्य ग्लानले परेवाभीर क्षेत्रमा मान्छे मरेमा हेटौँडाको बुद्धचोकमा ल्याएर दाह संस्कार गर्ने चेतावनी यसअघि नै प्रदेश सभा बैठकमा दिइसक्नुभएको छ । प्रदेश सभा सदस्य ग्लानले आकस्मिक रूपमा परेवाभीरको बाटो बन्दैन भनेर मुख्यमन्त्रीले भन्नुभएपछि हामी अत्यन्त दुःखी छौँ । बाग्मती प्रदेश सरकारले लगानी नगरे पनि हामी स्थानीय स्रोत जोडजाड गरेर बाटो बनाएरै देखाउँछौँ भन्नुभयो ।
त्यसैगरी कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मुक्तान जनताले कष्टकर यात्रा गरिरहेको परेवाभीरलाई उपेक्षा गर्न नहुने तर्क राख्नुहुन्छ । प्रदेश सरकारले नबनाए सङ्घीय सरकार र निजी क्षेत्रसमेत गुहारेर भए पनि बाटो बनिछाड्ने उहाँले प्रतिक्रिया दिनुभयो । मनहरीबाट धादिङको आदमघाट जोड्ने मूलबाटो बनाउने र चितवन हुँदै काठमाडौँ जाने बाटोको विकल्पका रूपमा मनहरी–आदमघाट खण्डलाई विकास गरिने जनप्रतिनिधिहरूको भनाइ छ । अहिले परेवाभीर खण्डमा चार सय मिटर बाटो निर्माण सम्पन्न हुनासाथ ५२ किलोमिटर खण्डकै ट्र्याक खन्ने काम पूरा हुनेछ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?