logo
२०८१ मंसिर १० सोमवार



पशुपतिनगरमा पर्यटन पार्क र पोखरी निर्माण

प्रदेश |
पर्यटन |


पशुपतिनगरमा पर्यटन पार्क र पोखरी निर्माण
तस्विरः प्रेम अधिकारी, इलामको पशुपतिनगरमा निर्माण भैरहेको पर्यटन पार्क ।


प्रेम अधिकारी
पशुपतिनगर(इलाम), साउन १० गते । पर्यटन प्रवर्द्धनका लागि इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा पर्यटन पार्क र पोखरी निर्माण गर्न थालिएको छ । प्रदेश सभा सदस्य खिनु लङवा लिम्बुको सांसद विकास कोषमार्फतको बजेटबाट पशुपतिनगरका दुई स्थानमा पर्यटन पार्क र पोखरी निर्माणको काम थालिएको हो ।

पशुपतिनगर बजारभन्दा माथिल्लो वन क्षेत्रमा पशुपतिनगर शान्ति वन वाटिका निर्माण हुँदैछ । सांसद लिम्बुको सांसद विकास कोषमार्फतको १४ लाख बढी रुपियाँ बजेटमा पार्क निर्माणको काम भइरहेको निर्माण समितिका अध्यक्ष कमल गदालले जानकारी दिनुभयो । १२ रोपनी १२ आना सार्वजनिक जमिनमा ३८० मिटर ट्रेकिङ रोडसहित घेराबार र पर्यटक बस्ने तीनवटा गोलघर निर्माणको काम सुरु भएको छ ।

प्रदेशसभा सदस्य लिम्बुको निर्वाचन क्षेत्र कार्यक्रमबाट १४ लाख ४१ हजार ३६० रुपियाँ र स्थानीय उपभोक्तबाट तीन लाख ६० हजार ४२७ रुपियाँ लागत साझेदारीमा निर्माणको काम भइरहेको निर्माण समितिका अध्यक्ष गदालले जानकारी दिनुभयो ।

यस्तै, पशुपतिनगर बजारको तल्लो भागमा पर्यटकलाई आकर्षित गर्न पर्यटन पोखरी (झिल) निर्माणको काम भइरहेको छ । प्रदेश सभा सदस्य लङवाको सभा सदस्य विकास कोषको २० लाख रुपियाँ लागतमा स्थानीय जरायोटार सिमढाप पोखरीको निर्माण भइरहेको हो ।

उक्त पोखरी निर्माणका लागि स्थानीय सुक्रे राई , टेकबहादुर गुरुङ, रमेश कटवाल , हर्कबहादुर राई , दिलिप यल्मोले १६ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनुभएको छ । अन्य चार रोपनी सार्वजनिक जग्गामा समेत पाखेरी निर्माण गरिने छ । उपभोक्ता समितिका अध्यक्ष प्रकाशचन्द्र राईका अनुसार हाल पोखरीको डयाम, प्लम वाल , ग्याविन वाल निर्माण र बाटो बनाउने काम भइरहेको छ । उक्त पोखरी निर्माणमा स्थानीयको २ लाख ४३ हजार ६३० रुपियाँ लागत साझेदारी रहने छ ।

स्थानीयले निशुल्क दिएको जमिन र सार्वजनिक गरी २० रोपनी जमिन उपभोक्ता समितिको नाममा नामसारीको कामसमेत भइरहेको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा विभिन्न पर्यटकीय स्थलहरू रहेका छन । निर्माण भइरहेको पार्क र पोखरीले पशुपतिनगरमा पर्यटकको थप आर्कषण बढने प्रदेश सांसद खिनु लङवा लिम्बुले जानकारी दिनुभयो । उहाले अन्य विकाससँगै पर्यटकीय सम्भावना भएका स्थानमा पर्यटकीय संरचना निर्माण आफनो प्राथमिकता रहेको बताउनुभयो । सांसद लङवाले भन्नुभयो, ‘भौतिक विकाससँगै पर्यटनमा लगानी गर्नुपर्ने थुप्रै ठाउँ छन्, त्यसको शुरुवात भइसकेको छ ।’ नेपाल, भारत, भुटान, बङ्गलादेश र तेस्रो मुलुकका समेत पर्यटकको ओईरो लाग्ने पशुपतिनगरमा पर्यटन पार्क र पोखरी निर्माणले पर्यटकको बसाइ लम्बिने सांसद लङवाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?