लक्ष्मण पौडेल
भैरहवा, साउन १० गते । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार हरेक वर्षको वर्षायाममा डुबानमा पर्न थालेपछि व्यवस्थापनका लागि गुरुयोजना निर्माण गरिएको छ । स्थानीयले दीर्घकालीन समस्या समाधानको माग गरेपछि दानव नदीको गुरुयोजनाको प्रक्रिया अघि बढेको थियो । रुपन्देहीमा रहेका तिनाउ, दानव र कन्चन नदीको तटबन्धसम्बन्धी काम गर्ने जनताको तटबन्ध कार्यक्रमको कार्यालयले यससम्बन्धी गुरुयोजना बनाई सम्बन्धित निकायमा पेश गरिसकेको जनाएको छ ।
चार अर्ब २५ करोडको लागत अनुमान गरी दानव नदीको बुटवल उपमहानगरमा पर्ने शून्य विन्दुदेखि भारतीय सीमासम्म करिब ६२ किलोमिटर नदीको व्यवस्थापन हुने गरी गुरुयोजना तयार भएको छ । नदी कटानले बर्सेनि धनजनको ठूलो क्षति गरिरहेको दानव नदीको व्यवस्थापन छिट्टै गर्न नसके यसले भविष्यमा ठूलै दुर्घटना निम्त्याउने जोखिम देखिएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयका प्रमुख दिनेश रेग्मीले बताउनुभयो ।
मर्चवार क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य प्रमोद यादवले गुरुयोजना तयार भइसकेको र यसको कार्यान्वयनको लागि आफूले पनि सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले मर्चवारवासीको जीउधनको रक्षा गर्न सङ्घीय सरकार पनि गम्भीर हुनुपर्ने बताउनुभयो ।
मर्चवारमा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ र १२ तथा सम्मरीमाई गाउँपालिकाको वडा नम्बर ३, ५ र ७ बाढीको उच्च जोखिममा रहेका छन् । यी क्षेत्रहरूमा नदीको तट कम हुँदा नदीमा बग्ने पानी खेत हुँदै गाउँसम्म पुग्ने गरेको छ । यस वर्ष पनि बाढीले यी क्षेत्रहरू डुबानमा परेका छन् । भरथापुर, भरवलिया, भटौलिया, चक्किडिह, खखडौरलगायत गाउँ डुबान र बाढीको चपेटामा परेका छन् ।
बाढीको पानी खेतीयोग्य जमिनमा आउँदा करिब चार हजार बिगाहाभन्दा बढी जग्गामा डुबान भएको छ । अन्न भण्डार मानिने मर्चवार क्षेत्रमा अहिले धानबाहेक तटीय क्षेत्रमा लगाइएका विभिन्न तरकारी बाली पनि पूर्णरुपमा नष्ट भएको किसानहरूको गुनासो छ । स्थानीय किसान रामचन्द्र नाउले खेतमा लगाएको तरकारी बाली बाढीले पूरै नोक्सान गरेको बताउनुभयो ।
जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयका प्रमुख रेग्मीले गुरुयोजना बनिसकेकाले अब बजेटको व्यवस्था हुन सके नदी व्यवस्थापनको काम अघि बढ्ने जानकारी दिनुभयो ।