सिराज खान
नेपालगञ्ज, साउन ११ गते । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका एक जना अधिकृतमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कार्यालयलाई बन्द गरिएको छ । सो कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेर सम्पूर्ण कर्मचारीहरूको पीसीआर परीक्षण सुरु गरिएकोले उहाँहरूको नतिजा नआउँदासम्म कार्यालय पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले कार्यालयका सम्पूर्ण कर्मचारी र उनका परिवारलाई होम क्वारेन्टाइन गरेर परीक्षण गराउन लागिएको जनाउँदै उनीहरू सबैको नतिजा नआएसम्मका लागि कार्यालयलाई बन्द गरिएको बताउनुभयो ।
साउन ८ गते नगरको त्रिभुवन चोकमा गरिएको पीसीआर परीक्षणका क्रममा जुम्ला घर भई नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत ती अधिकृतले परीक्षण गराउनुभएको थियो । शनिबार आएको परीक्षणको नतिजामा ती अधिकृतसहित अन्य तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमित रहेको पुष्टि भएपछि राजस्व कार्यालयका अधिकृतलाई शनिबार बेलुकानै नेपालगञ्जस्थित आइसोलेसन सेन्टरमा पठाइएको थियो ।
राजस्व कार्यालयका प्रमुख पौडेलले दैनिक सयौँको सङ्ख्यामा बाँके र बर्दियाबाट कर बुझाउन आउने सेवाग्राहीका कारण निकै भिडभाडमा काम गर्नु पर्ने बाध्यताले गर्दा अधिकृतलाई कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको बताउनुभयो । ती अधिकृतले गत केही महिनादेखि कतै टाढाको भ्रमण गरेको नदेखिएपनि उहाँलाई असारको महिनामा बर्दियास्थित सेवा कार्यालयमा भने केही समयका लागि खटाइएको सो कार्यालयले जनाएको छ ।
पचास जना बढीको स्वाब सङ्कलन
राजस्व कार्यालयका अधिकृतलाई सङ्क्रमण पुष्टि भएपछि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जमा कार्यरत सबै कर्मचारी र कर्मचारी निवासमा बस्ने उहाँका परिवारका सबै सदस्यहरूको आइतबार स्वाब सङ्कलन गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले राजस्व कार्यालयलाई सील गरेर त्यहाँ काम गर्ने सबै कर्मचारी र उहाँका परिवारका सदस्यहरू पचास जनाको स्वाब सङ्कलन गरिएको बताउनुभयो । उहाँले सो परीक्षणको नतिजा नआएसम्मका लागि सबैलाई होम क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।
यसैबीच नेपालगञ्जको त्रिभुवन चोकमा एक चर्चित मिठाई पसलका सञ्चालकलाई पनि सङ्क्रमण पुष्टि भएपछि सो पसललाई पनि बन्द गरेर उनका सम्पर्कमा आएकाहरूको स्वाब सङ्कलनको तयारी भइरहेको जनाइएको छ ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले मिठाई पसल सञ्चालकको सम्पर्कमा आएका बर्दियाबाट कामको खोजीमा आएर नेपालगञ्ज १२ मा डेरा गरी बस्ने एक युवतीमा पनि सङ्क्रमण पुष्टि भएकोले उनको सम्पर्कमा आएकाहरूको पनि खोजी भइरहेको बताउनुभयो ।