गोरखापत्र अनलाइन
जनकपुरधाम, साउन ११ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
आज सम्पन्न पीसीएमसीको बैठकमा मुख्यमन्त्री राउतले सीमानाकाबाट लुकीछुपी आउने कारणले पछिल्लो समयमा प्रदेशमा कडा लक्षणसहितको कोरोना सङ्क्रमित फेला परेको दाबी गर्नुभयो । उहाँले तीन वटै सुरक्षा निकायका प्रदेश प्रमुखलाई सीमा नाकामा थप कडाइ गर्न निर्देशन दिनुभएको हो ।
बैठकमा मुख्यमन्त्री राउतले लक्षणसहितका कोरोना सङ्क्रमितहरू देखिन थाले पनि यसबाट जोगिन अपनाउनुपर्ने उपायहरूबारे विज्ञहरूसँग सुझावसमेत लिनुभएको छ । कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भए गरेको कामकाजको प्रगतिबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिनुभयाे ।
बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरू, विज्ञ समूहका सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरूसहितको उपस्थिति रहेको थियो ।