बेलिना थापा
लमजुङ, साउन १२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित क्षेत्रमा एकीकृत बस्ती बसाल्ने बताउनुभएको छ । वर्षाका कारण बाढीपहिरोले घरबारविहीन भएका नागरिकको सहज व्यवस्थापनका लागि एकीकृत बस्ती बसालिने बताउनुभयो । मध्यनेपाल नगरपालिकाका बाढीपहिरो पीडितलाई आइतबार राहत प्रदान गर्दै मुख्यमन्त्री गुरुङले बाढीपहिरो प्रभावितको लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । ‘प्रदेशका धेरै ठाउँमा बाढीपहिरो जस्ता विपद्ले क्षति पु-याएको छ ।
नागरिक घरबारविहीन भएका छन्’ उहाँले भन्नुभयो, ‘बाढीपहिरो प्रभावित नागरिकलाई उचित व्यवस्थापनका लागि हामी लागेका छौँ । पीडितलाई बसोबासको व्यवस्था मिलाउन स्थानीय तहले जग्गा व्यवस्थापन गरेमा घर बनाइदिन्छौँ । एकीकृत बस्ती बसाल्छौँ ।’ मुख्यमन्त्री गुरुङले बाढीपहिरो प्रभावितको व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार लागिपर्ने बताउनुभयो । तिनै तहका सरकार पीडितलाई राहत, बसोबासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले खानेपानी, विद्युत, शिक्षा स्वास्थ्य र सडकको आवश्यकताअनुसार प्रदेशमा प्राप्त भएको सूचना र जानकारीको आधारमा पीडितहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्रीको उपस्थितिमा मध्यनेपाल नगरपालिका-६, लामासोतीको २७ घर र वडा नम्बर ९ को रातामाटाको दुई घर गरी २९ घरपरिवारलाई राहत प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरोले घरमा पूर्ण रुपमा क्षति पु-याएका परिवारलाई राहत प्रदान गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार पहिरोले घर पूर्ण क्षति भएका घरपरिवारलाई परिवार सङ्ख्याको आधारमा राहत रकम प्रदान गरिएको छ । पाँच जनाभन्दा कम सदस्य सङ्ख्या भएका २७ परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी सदस्य रहेको दुई परिवारलाई २०/२० हजार रुपियाँले दरले राहत दिइएको छ ।
प्रशासनले प्रत्येक घरलाई २५ किलो चामल, दुई किलो दाल, दुई किलो नुन, एक लिटर तेलका दरले प्रदान गरेको वडा नम्बर ६ का अध्यक्ष विष्णुभक्त पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिरो प्रभावित वडा नम्बर ६ को लामासोती, बिमिरेपानी र ९ को रातामाटाका नागरिकलाई राहत दिएको हो । नेपाल सरकारको मापदण्ड अनुसार घाइते, बिरामी, मानवीय क्षति, पशुचौपाया क्षति र आवासको क्षतिको भिन्न–भिन्न खालको मापदण्ड रहेकोमा सोही अनुरुप राहत र क्षतिपूर्ति उपलब्ध गराइएको प्रजिअ शर्माले बताउनुभयो ।
पीडितलाई केयर नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) लमजुङको तर्फबाट तत्काल व्यवस्थापनका लागि ४० सेट राहत सामग्री सहयोग गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीका कार्यकारी निर्देशक प्रेमबहादुर भट्टराईले बताउनुभयो ।
मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले हालसम्म पीडितहरूको लागि खाना, आवासलगायत आन्तरिक व्यवस्थापन नगरपालिकाले गर्दैआएको बताउनुभयो । पीडितहरूलाई व्यवस्थापन गर्नका लागि आवश्यकता अनुसार प्रदेश सरकार र सङ्घीय सरकारसँग पहल गर्ने बताउनुभयो ।
असार ३० गते सोमबार मध्यनेपाल क्षेत्रमा पहिरो जाँदा १०९ घर विस्थापित भएका छन् । ती घरपरिवारका ४०७ जना विस्थापित भएको जनाएको छ । उनीहरू सामुदायिक भवन, विद्यालय, आफन्तकोमा र भाडामा बस्दैआएका छन् ।