logo
२०८१ मंसिर १४ शुक्रवार



पहिरोमा आमाबुबा बेपत्ता, छोरा भागेर जोगिए

प्रदेश |


पहिरोमा आमाबुबा बेपत्ता, छोरा भागेर जोगिए
सांकेतिक तस्बिर


लोकेन्द्र जोशी

दार्चुला, साउन १३ गते । दार्चुलाको दुहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन् । एक जना भाग्न सफल भएर ज्यान जोगाएका छन् ।
सोमबार राति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उहाँकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी पुरिएर बेपत्ता भएका हुन् । एक्काइस वर्षीय छोरा सुनिल जोशी भागेर जोगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो ।

पहिरो जाँदाजाँदै छोरा भाग्न सफल भएपनि आमाबुबा समयमै निस्किन नसकेर जोगिन नसकेको प्रहरीले जनाएको छ । राति सुतेको बेला घर माथिबाट पहिरो खस्दा घर नै पुरिएको छ । गोठमा रहेका एक भैँसी र चार वटा बाख्रासमेत पहिरोले पुरिएका छन् ।

बेपत्ता दम्पतीको खोजीमा बिहान ५ बजेदेखि प्रहरी र स्थानीय परिचालित भएका छन् । यो वर्ष मनसुन सुरु भएपछि दार्चुलाको नौगाड गाउँपालिकाका पाँच जना र लेकम गाउँपालिकाका दुई जनाले ज्यान गुमाएका छन् । भने दुहुँमा बेपत्ता भएका दम्पतीको समेत जीवित उद्धार गर्न सकिने सम्भावना न्यून रहेको स्थानीयले बताएका छन् । बाढी र पहिरोबाट एक महिनामा दर्जनौँ जनावर र करोडौँको भौतिक सम्पत्तिसमेत क्षति भएको छ।

यसैबीच मालिकार्जुन गाउँपालिका–८ का ७२ वर्षीया गोमति जोशीले मालिकार्जुन-१ को भर्तोला खोलामा हाम फालेका छन् । खोलामा हाम फालेका महिलाको जीवितै उद्धार गरिएपनि उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?