logo
२०८१ मंसिर १४ शुक्रवार



डाेटीमा कोरोना सङ्क्रमण रोकथाम र उपचारमा करिब १२ करोड खर्च

प्रदेश |


डाेटीमा कोरोना सङ्क्रमण रोकथाम र उपचारमा करिब १२ करोड खर्च


डिलबहादुर सिंह

डोटी, साउन १३ गते । डोटीका विभिन्न स्थानीय तहहरूले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण रोकथाम तथा उपचारमा ११ करोड ८२ लाख ९० हजार ६१७ रुपियाँ खर्च गरेका छन् ।  डोटी जिल्लामा नौ वटा स्थानीय तहहरू रहेका छन् । जिल्लामा सबैभन्दा बढी कोरोना सङ्क्रमितहरूको सङ्ख्या शिखर नगरपालिकामा पत्ता लागेको छ । डोटीका नौ वटै स्थानीय तहहरूमध्ये सबैभन्दा बढी शिखर नगरपालिकाले एक करोड ८६ लाख ४६४ रुपियाँ खर्च गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारमा सबैभन्दा कम जोरायल गाउँपालिकाले ७० लाख रुपियाँ खर्च गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि आदर्श गाउँपालिकाले एक करोड ७७ लाख, दिपायल सिलगढी नगरपालिले एक करोड ५१ लाख ३० हजार १६३, बोगटान फुड्सिल गाउँपालिकाले एक करोड २५ लाख, पुर्वीचौकी गाउँपालिकाले एक करोड २७ लाख खर्च गरेको बताइएको छ ।  यसै सायल गाउँपालिकाले एक करोड ६२ लाख, केआई सिंह गाउँपालिकाले ९८ लाख ९४ हजार, बडिकेदार गाउँपालिकाले ८५ लाख र जोरायल गाउँपालिकाले ७० लाख खर्च गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को महामारी रोकथाम तथा उपचारका बिषयमा भइरहेको खर्चमा स्थानीय तहहरूले अनियमितता गरेको कुरा जनस्तरबाट आइरहेको भए पनि जनप्रतिनिधिहरू पारदर्शी रुपमा कम रकम खर्च गरेको दाबी गरिरहेका छन् । डोटीको आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बजेट अभाव भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा उपचारमा सफल भएको दाबी गर्नु भयो । अध्यक्ष रोकायाले भन्नुभयो,  ‘हामिसँग बजेट अभाव र पर्याप्त जनशक्तिको अभाव हुँदाहुँदै सङ्क्रमण रोकथाममा सफल भएका छौँ । यही नै ठूलो उपलब्धी हो ।’

स्थानीय तहहरूले विशेष गरी क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, यातायात, स्वास्थ्य निकायअन्तर्गतका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता तथा आरडीटी र पीसीआर किट खरिदमा बढी खर्च भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?