शैलेन्द्र रोकाया
बझाङ, साउन १२ गते । जिल्लाको छबिस पाथीभेरा गाउँपालिकामा–३ मा निर्माण भएको सिल्का बहुउपयोगी योजनाले किसानहरूलाई राहत भएको छ । बर्सेनि सिँचाइका लागी पानीको स्रोत अभावका कारण मर्कामा परेका किसानहरूलाई बहुउपयोगी योजना बने पछि सिँचाइ गर्न सहज भएको हो ।
खेतमा सिँचाइ गर्नसमेत पानीको अभाव खेप्दै आएका यस क्षेत्रका बासिन्दाका लागी सिँचाइ कुलो, सिँचाइ पोखरी, सिँचाइ धारा र सिँचाइ पोखरीबाट जम्मा भएको पानीबाट सुधारिएको घट्टसमेत निर्माण गरेपछि यस क्षेत्रका किसानहरूलाई ठूलो राहत मिलेको छ । मुहानमा पानी कम भएपछि सिँचाइ कुलोबाट सानो पानीलाई पोखरीमा जम्मा गरेर सिँचाइ धाराहरूमा र पोखरीबाट बढी भएको पानीलाई खेतहरूमा सिँचाइ गर्न र सिँचाइ पोखरीबाट सीधा पाईपबाट सुधारिएको घट्टमा समेत पानी लिएको छ ।
सानो पानीको स्रोतलाई व्यवस्थित बनाएर एकै योजनाबाट चार वटा क्षेत्रमा पानीको सही उपयोग भएको छ । जिल्लामै यसरी बहुउपायेगी योजना निर्माण भएको यो पहिलो योजना हो । ‘पानीको स्रोत कम छ, बर्सेनि पानीका लागि गाउँमा झैझगडासमेत हुने गर्दथ्यो' छबिस पाथिभेरा गाउँपालिका–३ सिल्काका तुफान सिंहले भन्नुभयो, 'सानो लगानीमा यो योजना निर्माण भएपछि निकै राहत भएको छ ।’
उहाँले भन्नुभयो, 'सधैँ आकाशे पानीको भरमा साउनको दोस्रो सातातिर राेपाइँ हुने खेतहरूमा यो वर्ष भने असारको पहिलो साता नै रोपाइँ भएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र छबिस पाथीभेरा गाउँपालिकाको लगानीमा जनश्रमदानसहित ६० लाखमा निर्माण भएको हो ।
नजिकै घट्ट पनि थिएन, पिठो पिस्नका लागि एक दिन पूरै खर्च गर्नु पर्दथ्यो तर गाउँमा नै सुधारिएको घट्टसमेत बनेपछि गाउँलेहरूलाई सहज भएको स्थानीय दिनेश सार्कीले बताउनुभयो । सिमेन्टको १७ सय मिटर आरसीसी नहरबाट ५५ हजार लिटरको पोखरीमा पानी जम्मा गर्ने र त्यहाँबाट छ वटा सिँचाइ धारा र सुधारिएको घट्टमा पानीको सही र व्यवस्थित उपायोगले यस ठाउँमा पुग्ने स्थानीयसमेत दङ्ग पर्नेगरेको सार्कीले बताउनुभयो ।
यो बहुउपयोगी योजनाबाट झण्डै १०० रोपनीमा सिँचाइ पुगेको छ भने झण्डै १२० परिवारलाई घट्ट पिस्न समेत सहज भएको छ ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका संयोजक भेषराज उपाध्यायले बताउनुभयो । यस क्षेत्रलाई गाउँपालिकाले तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्नका लागी तरकारी खेतीको समेत सुरुवात गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामीले भन्नुभयो, ‘कडेल क्षेत्र तरकारी तथा अन्नबालीका लागि निकै उर्वर क्षेत्र हो । यहाँ सिँचाइका लागी पानीको अभावका कारण यहाँका किसान धेरै मर्कामा परेका थिए तर यो योजना बनेपछि यहाँका स्थानीयहरू तरकारी खेतीमा समेत लागेका छन् र गाउँपालिकाले समेत तरकारी पकेट क्षेत्रका रुपमा बनाउने योजना बनाएका छौँ ।’