सिराज खान
नेपालगञ्ज, साउन १४ गते । बाँके, बर्दिया, दाङ, प्यूठान र सल्यानलगायत जिल्लाको स्वाब परीक्षणको कार्य गर्दैआएको यहाँस्थित भेरी अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबमा अहिले करिब पाँच सय स्वाब परीक्षणको पर्खाइमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार भेरी अस्पतालको उक्त प्रयोगशालामा परीक्षणको चाप धेरै बढेको र सरसफाइ गर्नु परेकोले करिब पाँच सय स्वाब परीक्षणको पर्खाइमा छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले समय समयमा ल्याबको पुरै सरसफाइ र सेनिटाइजेसन गर्नुपर्ने हुँदा मङ्गलबार ल्याब एकदिन बन्द गरिएको तथा विभिन्न जिल्लाबाट एकै पटक धेरै स्वाब आएकोले परीक्षणमा ढिलाइ भएको बताउनुभयो ।
उहाँले यहाँ धेरै चाप बढेपछि करिब दुईसय जति स्वाब नमुनालाई परीक्षणका लागि सुर्खेत पठाइएको पनि बताउनुभयो । यसैबीच आन्तरिक राजस्व कार्यालय र यातायात कार्यालयका सङ्क्रमित कर्मचारी तथा मिठाइ पसलको सञ्चालकको सम्पर्कमा आएकाहरूको स्वाब सङ्कलन गरिएपनि रिपोर्ट आउन ढिलाइ भइरहेकोले ती दुवै कार्यालय चार दिनदेखि बन्द रहेका छन् ।
समुदायमा कोरोना फैलिएको आशङ्कामा ती सबै ठाउँको नतिजा छिटोभन्दा छिटो सार्वजनिक हुनुपर्ने स्थानीयको माग रहेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालयले भने स्वाब धेरै ठूलो सङ्ख्यामा आइरहेको तथा ल्याबको सरसफाइका लागि एक दिन परीक्षण बन्द गरिएकोले झनै चाप बढेर ढिलाइ हुँदैगएको जनाएको छ । उता आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले चार दिनपछि पनि परीक्षणको नतिजा नआउँदा साह्रै तनाव भएको बताउनुभएको छ । उहाँले नतिजा आयो भने कर्मचारीहरूको अवस्था थाहा हुने र कार्यालयको काम कारबाहीलाई अगाडी बढाउन सहज हुने बताउनुभयो ।
भेरी अस्पतालको कोरोना प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले स्वाबको चापका कारण स्वाब परीक्षण गर्न कम्तीमा तीन दिन लाग्ने बताउनुभएको छ ।