सन्तोष राउत
सोलुखुम्बु, साउन १४ गते । सोलुखुम्बुको सोताङबाट १४ लाख ६५ हजार रुपियाँ नगद तथा कृषि विकास बैङ्कको २९ लाख रुपियाँको चेकसहित चार जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बुको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थमा उनीहरूलाई पक्राउ गरेको हो । सोताङ गाउँपालिका–५, शिवटार बजारनजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नम्बर ४ का दुर्गाप्रसाद राई, थुलुङदूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब निरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ल्याइसकेको र उनीहरूलाई जुवा ऐनअनुसार कारबाही हुने प्रनाउ लिम्बुले बताउनुभयो । बरामद भएको नगद रकम सरकारको हुनेछ । यति ठूलो परिणाममा नगदसहित जुवा खालबाटै प्रक्राउ परेको यो जिल्लाकै पहिलो घटना भएको प्रहरीले जनाएको छ ।