प्रेमराज सिम्खडा
कालीकोट, साउन १५ गते । कालीकोटकाे रास्कोट नगरपालिकाभित्रका सबै बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा आएको पहिरो र बाढीले नागरिकबीचको सम्पर्क पनि विच्छेद भएको छ । एक गाउँदेखि अर्को गाउँमा जाने सडक र बाटा पनि पहिरोले बगरमा परिणत गरेपछि गाउँ-गाउँबीचको सम्बन्ध टुटेको प्रहरीले जनाएको छ । रास्कोट नगरपालिकाका वडा-वडा बीचको सम्पर्कसमेत टुटेको छ ।
नगरको मूल सडक नै बाढीले कटान गरेर बगर बनाएपछि उद्धारकार्यमा समेत कठिनाइ उत्पन्न भएको छ । प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार रास्कोट प्रहरी चौकीले उद्धारमा जान सीधा बाटो बन्द हुँदा लेकाली बस्ती हुँदै छ घण्टासम्म पैदल बाटो भएर मात्र घटनास्थलमा पुग्नुपरेकाे बताउनुभयो ।
सबैभन्दा बढी रास्कोटमा क्षति गरेको उहाँले बताउनुभयाे । मानवीयसँगै धनसम्पत्ति र विकासका संरचना पूरै ध्वस्त भएको प्रहरीले बताएकाे छ । रास्कोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष दयाराम सिम्खडाले आफ्नो वडाका चार घर पहिरोले पुरेको बताउनुभयो ।
स्थानीय धर्मराज शाही, छत्रनाथ योगीलगायतका चार घर पहिरोले पुरेकाे छ भने ठूलो ढुङ्गा खस्ने खतरा बढिरहेको छ । ढुङगा खसेमा स्वास्थ्य चौकी, बर्थिङ सेन्टरका साथै सेराबजारमा ठूलो क्षति पुर्याउने अध्यक्ष सिम्खडाको चिन्ता छ । ढुङगा फुटाउन नेपाली सेनालाई आग्रह गरिएको छ । नेपाली सेनाका कर्नेल उत्तम कटुवालले ढुङ्गा फुटाउने प्रक्रिया लामो भएकाले बस्तीमा रहेका नागरिकलाई अन्यत्र सार्न अनुरोध गर्नुभयो । रास्कोटको वडा नं २ मा दिनमै पहिरो आएकाले मानवीय क्षति नभए पनि धनसम्पतिको ठूलो क्षति भएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष सिम्खडाले नगरको मूलसडकअन्तर्गत वडा नं २ का बिउराखोला, सेराखोला, टुडाखोलालगायत ठाउँमा बाढीले सडक बगाएर बगर बनाएकाले एक बस्तीबाट अर्को बस्ती जान सक्ने अवस्था नरहेको बताउनुभयो । रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले नागरिक बेपता भएको घटनास्थल जान खोज्दा बाटो नपाएर फर्किनुपरेको सुनाउनुभयो ।
उपप्रमुख शाहीले भन्नुभयो, 'अन्य ठाउँमा जाने न सडक छ, न पैदल बाटाे । बाढी नघटेकाले खहरेखोला समेत पार गर्न समस्या छ ।' उहाँले रास्कोट नगरपालिकाका बस्तीमा सहज आउजाउ गर्न अझै छ महिना लाग्ने बताउनुभयो । सडकको नामनिसाना मेटिएकाले बस्तीबीचको सम्पर्क सहज हुन मौसम सफा भएको छ महिनामा मात्र सम्भव हुने उहाँकाे भनाइ छ ।
नगरको वडा नं १ बहल्तोलामा बाढीले घर बगाउँदा एकै घरका चार जनासहित पाँच जना बेपत्ता भएका छन् । जयबहादुर शाहीको बहल्तोलामा भएको घर राति आएको बाढीले बगाएर बगरमा परिणत भएकाे छ । नपत्याउने गङगेखोलामा बाढी आउला भनेर कसैले सोचेका थिएनन् । वर्षातको समयमा पनि सानो सिँचाइ कुला जति मात्र पानी आउने खोलाले घर बगायो । एकै घरका पाँच जनाको ज्यान लियो । सत्तरी मिटर उचाइसम्म बगर बनाएकाे स्थानीय बताउँछन् । जिल्लाको नरहरीनाथ गाउँपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिकामा पनि बाढीले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ ।